sidebar_mainads

बाबुरामको नजरमा बी.पी

डा. बाबुराम भट्टराई,  बी.पी. कोइराला हामीले सानैमा सुनेको र उत्सुकतापूर्वक लिंदै आएको व्यक्तित्वको नाम हो ।  उहाँ नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा अगुवा नेताको रूपमा स्थापित हुनुभएको कुरा सानैदेखि नै हामीले सुनेको थियौं ।  मैले बी.पी. कोइरालाका बारेमा २०१७–१८ सालमा सुनेको थिएँ ।  त्यतिबेला म छ–सात वर्षको थिएँ ।  त्यतिबेला तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्थाको विघटन गरेर सबै दलमाथि प्रतिबन्ध लगाए ।  निर्वाचित सरकारलाई अपदस्त गरेर सबै दलका नेतालाई जेलमा हाली शासनसत्ता आफ्नो हातमा लिएको अवस्था थियो ।  त्यस कदमको कांग्रेस र कम्युनिस्ट सबैले विरोध गरे ।
म त गोरखा जिल्लाको निकै पिछडिएको गाउँको बासिन्दा हुँ ।  त्यतिबेला त्यहाँ शिक्षाको ज्योति त्यति राम्ररी फैलिएको थिएन ।  गुरुकुल प्रथा नै थियो, आधुनिक स्कुलहरू थिएनन् ।  भर्खरै मैले अनौपचारिकखालको पढाइ शुरु गरेको थिएँ ।  मेरा मामा (जेठी आमाका दाजु) कृष्णप्रसाद न्यौपाने नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो ।  २०१८ सालमा कांग्रेसका नेता सुवर्णशमशेरले सशस्त्र संघर्ष शुरु गरेपछि त्यसमा संलग्न भएर प्रहरीले ‘वारेन्ट’ काटेपछि त्यहाँ बस्न आउनुभएको रहेछ ।  मामा घरको माथि कोठामा बसेर दिनभरि लेखेर बस्ने गर्नुहुन्थ्यो ।  हामी त भर्खरै अक्षर चिन्दै थियौं ।  उहाँले लेखेर फालेका टुक्रा पढ्थ्यौं ।  ती कागजमा राजा खराब भए भन्ने कुरा अनि कांग्रेस र बी.पी. को नाम पढ्न पाएको थिएँ ।  ती कागज पढेपछि राजा अलिक खराबै रहेछन् भन्ने मेरो बालमतिस्कमा परेको थियो ।  त्यस्तैबेलाबाट मैले कांग्रेस, कम्युनिस्ट र बी.पी. कोइरालाको नाम सुनेको हुँ ।  पछि २०१९ सालदेखि म स्कुलमा भर्ना भएर पढ्न थालें ।  त्यतिबेला पार्टीहरू प्रतिबन्धित थिए ।  स्कुलमा दलगत राजनीति गर्ने कुरा पनि थिएन ।
वि.सं. २०२६ सालमा एस.एल.सी. परीक्षा दिएर काठमाडौं आएपछि मैले पहिलोपटक राजनीतिक दलका नेताहरूसँग भेट्ने मौका पाएँ ।  मेरा एकजना नातेदारले कांग्रेस र कम्युनिस्टका नेतालाई चिनाउनुभयो ।  म एस.एल.सी. मा बोर्ड फस्ट भएर उत्तीर्ण भएको विद्यार्थी भएको हुनाले उहाँहरूले बडो उत्सुकतापूर्वक लिनुहुन्थ्यो ।  त्यसैक्रममा मेरो सूर्यप्रसाद उपाध्यायलगायतका नेतासँग भेट भयो ।  त्यसबेला मैले बी.पी. लाई भेटें वा भेटिनँ, मलाई त्यति याद छैन ।  बी.पी. बस्दै आउनुभएको चावहिलको घरमा एकपटक भेट गरेको छु ।
राजतन्त्रबारेमा सबैभन्दा बढी प्रभावित भएको चाहिं भरतशमशेरले लेखेको एउटा पुस्तिकाबाट नै हो ।  राजतन्त्रले गरेका कर्तुत, षड्यन्त्र, जनताविरुद्धका कामको लामो फेहरिस्त भएको पुस्तक उहाँले निकाल्नुभएको थियो ।  त्यो खुलारूपमा पढ्न प्रतिबन्ध थियो ।  त्यस पुस्तक पढेपछि मलाई राजतन्त्रविरोधी चेतना त्यतिबेलै आएको हो ।  त्यसपछि चार–पाँच वर्ष म पढ्नतिर लागें ।
म भारतमा इन्जिनियरिङ पढ्न गएपछि स्वतः राजनीतिप्रति जिज्ञासा बढ्दै गयो र राजनीतिक चर्चा–परिचर्चा पनि बढी हुनथाले ।  त्यसैक्रममा हामीले अखिल भारत नेपाल विद्यार्थी संघ गठन ग¥यौं ।  त्यो भारतमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको छाता संगठन थियो ।  म त्यसको अध्यक्ष बनें ।  त्यही क्रममा बी.पी. कोइराला राष्ट्रिय मेलामिलापको नीति लिएर नेपाल फर्कनु हुँदा उहाँलाई पक्राउ गरेर जेलमा राखिएको थियो ।
उहाँको स्वास्थ्य खराब भएको चर्चा सबैतिर चल्यो ।  हामीमा राजनीतिक चेतना भएको हुनाले सबै दल र नेताप्रति सद्भाव राख्थ्यौं ।  त्यहीक्रममा मैले बी.पी. कोइरालालाई रिहा गरेर स्वास्थ्य उपचार गर्न पाउनुपर्छ भनेर सार्वजनिक वक्तव्य प्रकाशन गरें ।  त्यसले ठूलो हलचल उत्पन्न गरायो ।  त्यतिबेला नेपालमा नेपाल राष्ट्रवादी विद्यार्थी मण्डलको जगजगी थियो ।  कसैले पनि सिधै राजनीतिक दल र तिनका नेताको पक्षपोषण गर्न पाइँदैनथ्यो ।  म छात्रवृत्तिमा पढ्न गएको विद्यार्थी थिएँ ।  त्यसै विषयलाई लिएर भारतस्थित नेपाली दूतावासले आफ्ना मान्छे उठाएर मलाई अध्यक्षबाट हटाउन प्रयत्न पनि ग¥यो तर त्यसको सकारात्मक पक्ष के भयो भने त्यतिबेलासम्म कसैले वक्तव्य दिने, बोल्ने सहास गरेका थिएनन् ।  त्यो भएपछि म र अखिल भारत नेपाल विद्यार्थी संघप्रति सबैको चासो बढ्यो ।  राजदूतावासले पनि वक्तव्य जारी ग¥यो ।  त्यतिबेलाको त्यो समाचार गोरखापत्रमा पनि छाएिको छ ।  त्यसले देशव्यापीरूपमा तरंग पैदा भयो ।
त्यसको केही समयपछि बी.पी. जेलबाट छुट्नुभयो र उपचारमा विदेश जानेक्रममा दिल्ली पुग्नुभयो ।  २०२७–२८ सालमा चाहिं कहिले भेटभयो बी.पी. सँग मलाई त्यति अहिले याद छैन तर दिल्लीको दक्षिणी भागमा रहेको एउटा घरमा उहाँसहित कोइराला परिवारलाई मैले भेटेको हुँ ।  त्यतिबेला मैले बी.पी. कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, प्रकाश कोइराला, चक्रप्रसाद बाँस्तोलालगायतसँग भेट्ने मौका पाएको थिएँ ।  म अखिल भारत नेपाल विद्यार्थी संघको अध्यक्ष भएकाले बी.पी. ले मसँग स्नेहपूर्वक कुरा गर्नुभयो ।  त्यसपछि पनि पटक पटक भेट भयो ।
बी.पी. को बौद्धिक र राजनीतिक व्यक्तित्व त थियो नै शारीरिक व्यक्तित्व पनि निकै आकर्षक रहेको मैले पाएँ ।  उहाँले भनेको “राजासँग मेरो घाँटी जोडिएको छ” भन्ने भनाइप्रति मेरो सहमति थिएन ।  २३–२४ वर्षको म व्यक्तिगतरूपमा बी.पी. को प्रशंसक चाहिं थिएँ ।  उहाँका साहित्यिक कृति पढेर आकर्षित भएको थिएँ ।  उहाँका दोषी चश्मा, तीन घुम्ती र सुम्निमा कृति भर्खरै निस्केका थिए ।  उहाँमा दार्शनिक चिन्तन भएकाले पनि मलाई प्रभाव पारेको थियो ।  २०३४ सालमा पनि उहाँसँग मेरो भेट भयो ।  त्यसबेला चक्र बाँस्तोला, दुर्गा सुवेदी विमान अपहरणकाण्डमा परेर भारतमै बस्नुहुन्थ्यो ।  उहाँहरू बी.पी. को राजतन्त्रप्रतिको नीतिको विरोध गरेर पत्रिका निकाल्नुहुन्थ्यो ।  म चाहिं राजनीतिकरूपले उहाँहरूको नजिक पुगें ।  त्यसैक्रममा म कम्युनिस्ट पार्टीका नेतासँगको भेटघाट र कम्युनिस्ट आन्दोलनतिर लागें ।  मेरो राजनीतिक विचारधारा फरक भए पनि बी.पी. प्रतिको सम्मानमा कुनै कमी भएन ।  उहाँसँग तीक्ष्ण स्मरण शक्ति थियो ।  हामीजस्ता धेरै युवा उहाँलाई भेट्न जान्थ्यौं ।  म उहाँलाई नेपालमा पनि भेट्ने गर्थें ।  हामीले धेरै लामो समय भेट्न त पाउँदैन थियौं तर हामीले राखेका कुरालाई उहाँ ध्यानपूर्वक सुन्ने र सटिक जवाफ दिने गर्नुहुन्थ्यो ।
वि.सं. २०३४ देखि २०३९ सम्म मेरो उहाँसँग पटक पटक भेट भयो ।  उहाँको निधन हुनुभन्दा केही महिना पहिले म भारतको जवाहारलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गर्दै थिएँ ।  उहाँ अल इन्डिया इन्स्टियुटमा उपचार गराउँदै हुनुहुन्थ्यो ।  त्यहाँ पनि उहाँसँग भेट भयो ।  त्यतिबेला पनि उहाँले मलाई चिन्नुभयो र रामै्र स्मरणमा राख्नुभएको रहेछ ।  त्यो नै मेरो उहाँसँगको अन्तिम भेट हुनपुग्यो ।  पछि मैले उहाँको निधनको खबर सुनें ।  नेपाली राजनीतिको एउटा शीर्ष नेताको निधन हुँदा हामी दुःखी थियौं नै ।  हुन त म त्यतिबेला कम्युनिस्ट पार्टीमा क्रियाशील भइसकेकाले वैचारिकरूपमा निकै टाढा बनिसकेको थिएँ ।
उहाँले नेपालमा आधुनिक पुँजीवादी प्रजातान्त्रिक समाजवादी विचारको प्रवेश गराउनुभयो ।  उहाँले २००७ सालदेखि निरन्तर राजतन्त्र र सामन्तवादविरुद्ध संघर्ष गरिरहनुभयो ।  त्यो चाहिं उहाँको जीवनको उल्लेख्य पक्ष रह्यो भन्ने मलाई लाग्छ ।  आधुनिक नेपालमा बी.पी. कोइरालाको स्थानलाई कसैले पनि कम गर्न सक्दैन ।  उहाँ समकालीन आधुनिक नेपालका एउटा अत्यन्तै उच्च व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरा म स्वीकार गर्दछु ।  वैचारिक हिसाबले समकालीन नेपालका नेताहरूको तुलनामा उहाँको उचाइ शायद सबैभन्दा अग्लो नै रहेको हामीले मान्नुपर्छ ।  उहाँको अध्ययनशीलता, चिन्तनशीलता, तर्कशीलता उच्चकोटीकै रह्यो ।  उहाँको साहित्यिक व्यक्तित्व पनि उच्चकोटीको नै हो भनेर हामीले स्वीकार गर्नुपर्छ ।  यद्यपि म वैचारिकरूपमा त्यो उदारवादीधारमा विश्वास गर्दिनँ ।  म माक्र्सवादी समाजवादी चिन्तनमै विश्वास गर्छु तर पनि उहाँको जुन योगदान हो, त्यो स्मरणीय छ ।
नेपाली समाजमा रहेको सामन्तीयुगको अन्त्य गरेर एउटा पुँजीवादीधारको नेतृत्व उहाँले गर्नुभयो ।  यसक्रममा म एउटा कुरा के भन्न चाहन्छु भने बी.पी. त्यति महान् विचारक, चिन्तक हुँदाहुँदै पनि शायद त्यतिबेलाको शीतयुद्धको अन्तर्राष्ट्रिय प्रभावले हुनसक्छ, उहाँले २००७ सालदेखि वैकल्पिक धारको रूपमा रहेको कम्युनिस्ट शक्तिलाई स्वीकार गर्नुभएन ।  त्यतिबेला कांग्रेस ठूलो शक्ति थियो, कम्युनिस्ट चाहिं पछिमात्रै ठूलो शक्ति भए ।  कम्युनिस्टसँग मिलेर जान तदारुकता देखाउन नसक्नु चाहिं बी.पी. को राजनीतिकरूपमा अपुग र कमजोरपक्ष रह्यो भन्ने मलाई लाग्छ ।  विशेषगरी कम्युनिस्ट नेता पुष्पलालले कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायती व्यवस्था र निरंकुशता अन्त्य गरेर लोकतान्त्रिक व्यवस्थातिर जानुपर्छ भनेर जुन कुरा उठाउनु भएको थियो, त्यसलाई उहाँले मान्नुभएन ।  सबै कम्युनिस्ट मिलेर २०३६ सालमा बहुदलको पक्षमा लागौं, तपाईं नेतृत्व गर्नुहोस् भन्दा पनि उहाँको जस्तो व्यक्तित्व थियो, उहाँले त्यो प्रस्तावलाई लिएर जानुपथ्र्यो ।  त्यसमा उहाँ चुक्नुभयो भन्ने मलाई लाग्छ ।  यदि उहाँले कम्युनिस्टहरूलगायत अन्य शक्तिलाई पनि समेटेर नेतृत्व गर्ने आँट गर्नसकेको भए शायद २०४७ सालको परिवर्तन उहाँकै जीवनकालमा पनि हुनसक्थ्यो ।
अहिलेसम्म हामी पुँजीवादी क्रान्तिलाई नै पूर्णता दिन यहाँसम्म आएका छौं ।  त्यसले अलि अघि नै तीब्रता पाउनसक्थ्यो ।  त्यसमा अलिकति उहाँको त्रुटि रह्यो भन्ने लाग्छ ।  तैपनि, नेपाली इतिहासमा बी.पी. कोइरालाको स्थान जो कसैले ग्रहण गर्न सक्दैन ।  उहाँ आधुनिक नेपालका महान् व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरामा कुनै आशंका छैन ।  म फरक वैचारिक खेमामा उभिए पनि उहाँप्रति उच्चसम्मान व्यक्त गर्न चाहन्छु ।  व्यक्तिगतरूपमा उहाँसँगका भेटका जुन स्मरण छन्, तिनलाई म जीवनपर्यन्त सुरक्षित राख्न चाहन्छु ।  हामी सबैले नेपाललाई परिवर्तन गरेर आधुनिक नेपाल बनाउँदैछौं ।  त्यसका लागि हामीले दलगतभन्दा माथि उठेर राष्ट्र र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।  त्यसका निम्ति बी.पी. कोइरालालगायतका जति पनि व्यक्तित्व हुनुहुन्छ, उहाँहरूको उच्च मूल्यांकन गरेर अगाडि जान सक्नुपर्छ ।  अहिले बी.पी. को शतवार्षिकी मनाइँदैछ ।  यस समयमा उहाँका नकारात्मक र सकारात्मक पक्षको पाठ सिकेर अगाडि बढ्नुपर्छ ।  मान्छे भनेको भगवान् होइन, उसका सकारात्मक र नकारात्मक पक्ष दुवै हुन्छन् ।  सबै व्यक्तिका सकारात्मक पक्षको पाठ सिकेर अगाडि बढ्नुपर्छ र बी.पी. ले यो राष्ट्रका लागि जुन योगदान गर्नुभएको छ, त्यसको उच्च मूल्यांकन गरेर जानुपर्छ भन्ने मलाई लाग्छ ।

(डा. भट्टराई पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता हुनुहुन्छ । )

प्रस्तुतिः नारद गौतम

About Tekman Shakya

0 comments:

Post a Comment