टेकमान शाक्य ।
सानैदेखि २ क्षेत्रमा अत्यन्तै धेरै रुची । गणित शिक्षक र पत्रकार मध्ये एउटा बनेरै छाड्ने अठोट । यी दुई क्षेत्र भन्दा अन्यमा मेरो ध्यान कहिल्यै पनि गएन । अहिले भने समयको मागले पनि हुन सक्छ, व्यबसायीक कृषक बन्ने ठूलो ईच्छा छ । आर्थिक कारण त्यसलाई सुरुवात गर्न सकेको अवस्था भने होईन । कुनै निकायको सहयोग पाएमा आफ्नो भिजन प्रयोग गर्ने सुरमा छु ।गणित शिक्षक, जसको छुट्टै कथा छ । कक्षा ५ सम्म साँझभञ्ज्याङको सिमलगैरी प्राथमिक विद्यालयमा पढेको हुँ । अहिले चाँहि निमाबि भैसक्यो । कक्षा ३ मा पढ्दाको एउटा घटना छ । उहाँले पनि भुलिसक्नुभयो सायद । कविता मिसले गणित पढाउनुहुन्थ्यो । कक्षामा बारम्बार भनिरहनुहुन्थ्यो,–“कुनै हिसाव नआएमा मलाई सोध्नु, जुनसुकै बेलामा सिकाउन तयार छु ।” मिसले त्यसरी भन्नुभए पनि कहिल्यै “हिसाब सिकाईदिनु” भन्न जान्न थिएँ । एकदिन आँट गरेर नै नजानेको हिसाव सोधेँ । उहाँले मलाई मायालु पाराले बुझाउन थाल्नुभयो । मैले बुझिन । फेरी बुझाउने प्रयास गर्नुभयो । तर फेरी बुझिन । ३ चोटीसम्म बुझाउने उहाँको प्रयास असफल भयो । बारम्बार नबुझेको भन्ने भनाईले मिसलाई बहाना जस्तो लागेछ । गालामा उल्टो हातले एक चड्कन लगाउनुभयो । मज्जैले कराउनुभयो । त्यसपछि कहिल्यै पनि मिससँग हिसाव सिक्न गईन ।
५ कक्षा बाट दोस्रा भएर सुनखानी माध्यमिक विद्यालयमा गएँ । म माथिको अन्याय कक्षा १ बाट नै सुरु भएको हो । कसैले कहि भन्ने बित्तिकै रोईदिने दैनिकि । बेन्चमा राम्रोसँग बस्न पाउने थिईन । कक्षामा झोला राखेर कत्तै बाहिर गएर फर्किएर आउँदा झोला डस्बिन भित्र र खेल्ने ग्राउण्डमा खोज्नुप¥थ्यो । अन्यायको सिधै प्रतिकार गर्ने शक्ति पनि थिएन । कक्षा ६ मा पढ्दा एकजना सरलाई आफ्नो दुःख भन्न असिस गएँ । भनेँ,–“सर .....ले मलाई पिट्यो ।” सरले भन्नुभयो,–“जा त पनि गएर ठोकिदिए । जसको शक्ति उसको भक्ति” मलिन अनुहार लिएर फर्किएँ । वातावरणको असरले कक्षा ६ मा असफल भएँ । न्यायका लागि नै त्यतिखेर देखिनै केहि गर्नुपर्छ भन्ने लाग्न थाल्यो । बिस्तारै पढाईमा राम्रो गर्दै गएँ । कक्षाको प्रथम छात्राको रुपमा चिनाउन पुगेँ । त्यसपछिका दिनहरुमा आँखाबाट आँशुका भलहरु बग्न रोकियो ।
कक्षा १० मा पढ्दा ताकाको कुरा हो । हामी विद्यालयको पहिलो ब्याज थियौँ । समस्याका बाबजुत विद्यालय अघि बढिरहेको थियो । राजनीती सुरु भयो विद्यालयमा । एमाले, काँग्रेस र एकीकृत माओवादीले छुट्टाछुट्टै बैठक सुरु हुन थाले । राजनीती मात्र होईन, नाताबाद र क्रिपाबादले शिक्षक नियुक्ति हुन थाल्यो । राजनीतिक आडमा आफ्नो मान्छेलाई भर्ति गर्ने कारखाना बन्यो विद्यालय । त्यसको बिरोधमा उत्रियौँ हामीहरु । दलहरुको बारेमा अनविज्ञ नै थियौँ । तर पनि राजनीतिक बिल्ला ओढाउने काम भयो । विरोधलाई राजनीतिक एजेण्डा बनाएर विद्यार्थीहरुबिच नै फाटो लगाईदिने काम गरियो । अघिल्लो दिन एउटै प्लेटमा खाजा खाएको साथिसँग भोलीपल्टबाट बोलचाल बन्द भयो ।
प्राय सँधै रेडियो सुन्थेँ । पढ्न बस्दा पनि रेडियो बजाउनै पर्ने बानी । रेडियो धादिङबाट प्रशारण हुने नारायण चन्द सुवेदीको कार्यक्रम “बिहानी भाका” अत्यन्तै मन पर्ने । अहिले सम्म नारायण दाईसँग मरो दाहोरो कुराकानी भने भएको छैन । मान्छे चाँहि देखेमा चिन्छु । उहाँको कार्यक्रमले अत्यन्तै प्रभावित भएकाले एउटा पत्र लेख्न मन लाग्यो । “नाताबाद र क्रिपाबादमा” शिक्षक नियुक्ति भन्ने शिर्षक राखेर । पत्र लेखेर हुलाक मार्फत पठाईदिएँ । केहि दिनपछि प्रशारण पनि भयो । प्रशारण भएको भोलीपल्ट नै स्कुलमा स्पष्टिकरण दिनुप¥यो । विद्यालय व्यबस्थापन समितिका अध्यक्षले रेडियो धादिङमा गएर केहि कुरा गर्नुभएको भन्ने पनि सुनेँ । त्यसपछिका दिनहरुमा मैले रेडियो धादिङमा जस्तो सामग्री पढाएपनि प्रशारण हुन छाड्यो । त्यसभन्दा पहिले पठाईएका सामग्री सजिलै प्रशारण हुन्थ्यो । त्यसपछि पत्रकारितामा रुची बढ्न थाल्यो ।
केहि महिनापछि रेडियो विहानीको परीक्षण प्रशारण सुरु भयो । अत्यन्तै खुसी लाग्यो । भित्रैदेखि आफुलाई पनि त्यो रेडियोबाट बोल्ने ईच्छा जागेर आयो । जुनसुकै बिचारधाराको भएपनि मिडियामा नै काम गर्ने जाँगर सुरु भयो । त्यहाँसम्म पुग्नका लागि लिलामान अंकल, गोविन्द अंकल अनि हरी सरले सहयोग गर्नुभयो । रेडियोले दिने एक हप्ते तालिममा पनि सहभागी भएँ । तालिममा उत्कृष्ठ हुनेलाई रेडियोमा बोल्ने अवसर थियो । मैले पनि त्यसको सदुपयोग गर्ने मौका पाएँ ।
आज भन्दा ४ वर्ष पहिले । रेडियोका सरहरुबाट बाल कार्यक्रम गर्ने सल्लाह प्राप्त भयो । २०६७ साल आषाढ १२ गते शनिबार । खुसीको सिमा रहेन । मेरो कार्यक्रम औपचारिक रुपमै रेडियोबाट बज्ने पहिलो कार्यक्रम बन्न सफल भयो । कार्यक्रम उत्पादनको सुरुमा नबिन दाई, सन्तोष दाईहरुले सहयोग गर्नुभयो । कार्यक्रमको प्रोमो निर्माण र संचालन गर्ने तरिकाका बारेमा बारम्बार सुदर्शन सरले गाईड गरिरहनुहुन्थ्यो । नारायण सरले पनि नआत्तिकन काम गर्न भन्दै हरेक क्षण सजग गराईरहनुहुन्थ्यो । कार्यक्रम अन्त्यन्तै राम्रो हुँदै गयो । छोटो समयमा नै धेरैको मन जित्न सफल भयो । साना साना भाईबहिनिहरुका रचनाहरुको बर्षा लाग्न थाल्यो । रमाईलो कुरा त के भने, कक्षा १० मा पढ्नेहरु मेरो कार्यक्रममा आउन “दाई” सम्बोधन गर्दै रेडियोमा फोन गर्थे । बास्तविक भेट हुँदा त, मैले पो दाई÷दिदि भन्नुपर्ने । हाहाहाहाहा.......। बाल कार्यक्रम देखि समाचार कक्षमा कार्यरत हुँदासम्मको यात्राहरु निक्कै नै उपलब्धिपूर्ण भयो सिकाईका लागि । पछि बाल कार्यक्रमलाई मैले बिष्णुमायाँ श्रेष्ठलाई संचालनको जिम्मा लगाएँ । बिष्णुले पनि राम्रो गरेकी थिईन । उनीले पनि सबै भाईबहिनिको मन जित्न सफल भएकी थिईन । बिष्णुले चलाउन छाडेपछिरुपा पाख्रिनले सुरु गरिन् ।
रेडियो विहानी ९७.६ मेगाहर्जमा २ वर्षको कार्यकाल पछि राजधानीमा रहेको मेरो एफएममा हानिएँ रेडियो प्राविधिकका रुपमा । केहि महिना काम गरेपछि फेरी रेडियो रियाजमा पुगेँ । काम सुरु गरेको २÷३ दिन पछि युथ एफएमबाट रेडियो रियाज नामाकरण हुन पुग्यो । रेडियो कुमार भट्टाराई र राजबहादुर सिंहको व्यबस्थापनमा चलेको थियो । रेडियोमा समाचार सुरु गरेको पनि हामीले नै हो । भित्रको बिबाद के थियो थाहा भएन । एकदिन, राती ९ बजे समाचार वाचनका लागि समाचार प्रिन्ट गरेर अन एयरमा प्रवेशको तयारीमा थिएँ । सबैजना अपिसबाट गैसकेका थिए । म मात्र बाँकि । कुमार सरको फोन आयो । समाचार नभन्नु भन्ने आदेश प्राप्त भयो । कुमार सरको भनाईलाई जस्ताको तस्तै समाचार प्रमूख बिनय देवकोटा समक्ष राखेँ । उहाँले भन्नुभयो,–“समाचार बन्द नगर्नु, परेको म बेहोरुँला ।” दुई जनाले दुई कुरा भनेपछि मैले कस्को कुरा मान्ने तनाव भयो । समाचार नै नभनिकन कोठातिर फर्किएँ । तनावले खाना नै नखाईकन घुप्लुप्प सुतेँ । लाग्यो, अव यो रेडियोमा यसरी दबाबमा बसेर काम गरिँदैन । भोलीपल्ट नै राजिनामा दिईन्छ । भोलीपल्ट ६ बजे रेडियो सुनेँ । समाचार प्रशारण भएन । दुर्गा दिदिले फोन गर्नुभयो । अपिस गएँ । अन्ततः हाम्रो टिमलाई १ महिनाको अतिरिक्त तलब दिएर निकाल्ने सुर बनार्ईएको रहेछ । केहि साथिहरु बस्नुभयो । केहि साथिहरुसँगै म भने काम नगर्ने निर्णयमा पुगेँ । बस्ने साथिहरुले भने पछिल्लो तलब नदिएको तनाबलाई सामना गर्नुप¥यो ।
रियाज छाडेको एक महिनापछि गोर्खा एफएमका स्टेशन म्यानेजर मोहन सिंह लामा सरलाई फोन गरेँ । कर्मचारीको आवश्यकता रहेछ । भेटेर नै कुराकानी गर्ने सल्लाह भयो । गएँ गोर्खा एफएममा । भेटेँ मोहन सरललाई । थोरै तलब भएपनि काम गर्ने भए गर्नु भन्दै अवसर दिनुभयो । मैले पनि फुर्षदको समय त्यतिकै किन बस्ने भन्ने आसयले अर्को दिनदेखि आउने निर्णय सुनाएँ ।
भोलीपल्ट बिदाको दिन शनिबार । गएँ अपिस । कोहि नचिनेको । त्यो भन्दा पहिले गोर्खा एफएम सुन्ने गरेको पनि थिईन । समाचार भन्ने स्टाईल पनि थाहा छैन । विहानी सेवामा कार्यरत साथिहरुले स्टेशनको समाचार शैलीका बारेमा बताएपछि आफ्नो काम सुरु गरेँ । कसरी समाचार भन्ने ? स्टेशनको शैलीकै बारेमा थाहा छैन । तर बाध्य भएर समाचार कक्षमा एक्लै बसेर काम गर्नुप¥यो । भोलीपल्ट आफ्नो कार्यकक्षमा जाँदै थिएँ । एक्कासी रिसेप्सनमा सुलोचनाले बाटो छेक्नुभयो । स्वभाविकै हो, मलाई चिन्नुभएको थिएन उहाँले । भन्दै हुनुहुन्थ्यो,–“ए...ए...ए...कहाँ जान लागेको ? कसलाई भेट्न आउनुभएको ? यता बाहिर बस्नुस् त ।.....”अघिल्लो दिन दिनभर समाचार वाचन गरेपछि भोलिपल्ट स्पष्टिकरण दिएर मात्रै कार्यकक्षमा बस्नुप¥यो । त्यो घटनाले अहिले पनि रमाईलो आभास हुन्छ ।
पहिलेदेखि नै नेपाल एफएममा काम गर्ने ठूलो धोको । सानो छँदा स्टेशनको समाचार शैली र प्रशारित सामग्रीले निक्कै नै प्रभावित । धादिङ छँदा रेडियो लोकतन्त्रबाट खुब सुन्थेँ राती ८ बजेको नेपाल सेरोफेरो । स्कुल पढ्दा नागरिक अभिमतमा आफ्नो बिचार रेकर्ड गराईरहन्थेँ । देशैभर आफ्नो बिचार आफ्नै आवाजमा प्रशारित हुँदा निक्कै खुसी लाग्थ्यो । त्यसैले पनि नेपाल एफएममा काम गर्ने धोको पुरा गर्नु थियो । गोर्खा एफएममा हुँदा फोनमा सुवास सरसँग कुराकानी भैरहन्थ्यो । उहाँले एकदिन भेटेर कुरा गरौँ भन्नुभयो । केहि समय परीक्षणकाल बिताएपछि २०७० साल पुष १ गतेदेखि नियमित कर्मचारीमा नियुक्त भएँ । नियुक्तीपत्र पनि प्राप्त गरेँ । नेपाल एफएमको नियुक्तिपत्र जीवनको पहिलो नियुक्तिपत्र थियो । अत्यन्तै हर्षित भएँ । अन्य ४ वटा रेडियोले भने मलाई बिना नियुक्तिपत्र र बिना न्युनतम पारिश्रमिकमा काम लगाएका थिए ।
पत्रकारिताको यात्रा ४ वर्ष पुरा गरेर ५ वर्षमा प्रवेश गरिसकेको छ । नेपाली मिडियाको वर्तमान अवस्था देखेर कुनै बेला याल लागेर आउँछ । अहिले पनि केहि रेडियोबाट मैले पारीश्रमिक पाउन सकेको छैन । आफुले नै काम गरेको नाताले पनि हुन सक्छ, मिडियाको नाम तोक्न भने असमर्थ छु । मिडियाका ठेकेदारहरु नै न्यायमा भएकाले पनि हामी जस्ता श्रमजीविहरु चेपुवामा पर्नुपर्ने बाध्यात्मक अवस्था छ । पछिल्ला दिनमा पत्रकारिता क्षेत्रबाट हात धुने सुर आउन थालेको छ । उत्पादन बिना मुलुकमा कुनै क्षेत्र फष्टाउन नसक्ने देखेको छु । उत्पादनलाई विशेष प्राथमिकता दिने ईच्छा पुरा गर्नका लागि पनि महत्वपूर्ण निर्णयको सुरमा छु ।
0 comments:
Post a Comment