sidebar_mainads

आखिर भोग्नै प-यो

बैकुण्ठ ढकाल
झण्डै पाँच महिना अघि नै थाहा थियो, आजको दिनको बारेमा । यो दिन भोग्नै पर्ने थाहा थियो सुन्दा त्यत्तिधेरै घोचेन । स्वाभाबिक थियो, मृत्युको खबर । म अहिले पनि सम्झन्छु अचानक यो दिन कल्पना गर्नुपर्ने र सुन्नु परेको भए मलाई कत्ति गा¥हो हुन्थ्यो । त्यो अहिले कल्पना गर्न सक्दिन । मैले मेरो जन्मदाता, कर्मदातालाई चाँडै गुमाउनु पर्ने खबर सुनेर आफूलाई त्यही अनुसार तयार पार्दै लगेको थिएँ ।
 केहि लामो समयसम्म बा भन्न पाउँछु कि भन्ने मनमा स्यानो आशाको त्यान्द्रो चाहिं बाँकी थियो । बिज्ञान र चिकित्साले पनि बचाउन नसक्ने अबस्थामा पुगिसकेपछि कस्को के लाग्दो रहेछ र ?
म दाइको शरणमा थिएँ, काटेश्वरमा । (जेठो ठूलाबाको कान्छो छोरो कहाँ ) । खबर सुन्नु नै थियो । तर घटना भएको झण्डै पाँच घण्टा पछि मात्रै खबर पाएँ । पत्रकारिताको तालिम लिँदै थिएँ, बागबजारमा त्यहाँ फोन गर्नु भएको रहेछ गाउँबाट । म निस्कनु र फोन आउनु एकै पटक भएको थियो । बागबजारबाट कोटेश्वर पुग्दा छिमेकी कहाँ फोन आएको रहेछ । मैले भन्दा अगाडि भाउजु (मुना)ले कुरा गरेर थाहा पाउनु भएको रहेछ ।
उहाँहरुलाई मलाई कसरी सुनाउने भन्ने समस्या रहेछ, मलाई यो खबरले ज्यादै दुःखी बनाउँछ भन्ने उहाँहरुलाई लागेको रहेछ । माथिल्लो तलाको च्यानल गेट खोल्ने बित्तिकै भतिजीले भनिहालिन । एउटा खबर छ, सुनाउँदा अंकल रुनुहुन्छ, त्यही भएर ममी बाबाले नभन्नु भन्नु भएको छ । मैले कुरा बुझि हालें ।
कत्तिखेर रहेछ ? मेरो मुखबाट फुत्त फुस्कियो ।
मध्यान्ह १२ बजेतिर रे, फोन बिग्रिएको रहेछ । भर्खर बन्ने बित्तिकै खबर गरेको रे । हुन त पालुङबाट काठमाण्डौं मानिस आईपुग्न भन्दा पनि धेरै ढिलो खबर आयो ।
गाबिसमा मार्टस् लाईनको टेलिफोन थियो । धेरै घाम र पानी पर्दा काम नलाग्ने । एकदमै बिग्रिएको पेट जस्तै जत्तिखेर पनि ……..
अब के गर्ने त, घर जानु प-यो नि ।
हँ प-यो दाइ भाउजुले भन्नु भयो ।
उहाँहरुले मलाई सम्झाएर घर लैजानु पर्ने उल्टै म सम्झाउँदै थिएँ ।
चोक तिर लागियो, पूर्ब जाने बस रहेछ । साँझ ५ बजे बसमा बसेको गुड्छ, गुड्छ भन्दाभन्दै त्यहीं सात बजाई दियो । म बसको सिटमा गएर बसेदेखि नै रानो हराएको माहुरी जस्तै भएछु । अर्को बस चढ्ने पनि सोच्न सकिन ।
म तनाबमा थिएँ, शोक त थियो नै । तर शोकलाई तनाबले जितिरहेको थियो । रात छिप्पिदै थियो । बस एक दुई मिनेट गुड्दै पाँच दश मिनेट रोकिदै गरिरहेको थियो । बसको गतिसंगसंगै समयको गति पनि रोकिएको भए पो म नहत्तारिनु ।
बेलुकी साँढे आठ बजे नौबिसे पुग्यौं । तर उपाय केहि लाग्ने देखिएन । मनमा झल्याँस सम्झना आयो । नजिक रहेका आफन्तको । आफन्त मात्र भएर भएन, साधन भएको आफन्त चाहियो ।
मैले सानोबालाई फोन गरें । नम्बर पत्ता लगाउन भोग्नु परेको हैरानी यहाँ उल्लेख नगरौं सदा मोटरसाईकलमा हुँईकिने सानो बा आज त धार्केबाट नौबिसे तरकारी बोक्ने ट्रकमा आईपुग्नु भयो । मैले अरु कुरा केहि सोधिन, मोटरसाईकल खै त ?
जवाफ के आयो मैले याद गरिन, सम्झन सकिन । उहाँले भनेको पछिल्लो वाक्य चाहिं सम्झिएँ रातको समयमा किन हिड्नु भोलि बिहान आरामले जाँदा हुन्छ नि ।
(बा को निधन भएको छ, क्रिया बस्न जानु छ । बिस्तारै शोक मनाएर आरामले त हो नि घर जाने, त्यही पनि खानपान गरेर होला) मनमा खेलाएँ । मुखबाट जवाफ आएन ।
संगै भएका दाइले आँखाको इसाराले थप केहि नबोल्न आग्रह गर्नुभयो । म चूप लागिन ढिला खबर थाहा पाएर, उसै त ढिलो भईसकेको थियो । त्यहाँमाथि आरामले घर जाने कुराले त ……
तपाँईको मोटरसाईकल दिनु हामीलाई एक डेडघण्टामा घर पुगिहाल्छौं । तपाँईको मोटरसाईकल भोलि उज्यालो नहुँदै दाखिला गराउँला । तपाँईको काममा कुनै हानि पु¥याउने छैनौं । सम्भाबित उल्झन आउनु अगाबै मैले आफ्नो कुरा एकै वाक्यमा पूरा गरें ।
तर मेरो वाक्यले केहि काम दिएन, त्यत्रो आशा र भरोसाका साथ मैले खर्चिएका शब्दहरुले सायद कुनै भाब र भाबना ब्यक्त गर्न सकेनछ क्यार ।
पूरानै वाक्य दोहोरियो, दिन आफ्नो रात अर्कोको हुन्छ । भोलि आरामले जाँदा हुन्छ, हुने कुरो भईहाल्यो । किन आत्तिनु ?
मुखले केहि बोलिन । मनभरी शब्दहरु खेलीरहे । साउनको महिना छ, झरी बादल हुन्छ । म मेरो बा को काजक्रिया पनि चैत्र बैशाखमा घाम लाग्ने बेलामा गरौंला । के छ ? मेरो पो बा त । उहाँका त कोही न कोही । श्रीमतीको दिदीको पोइसम्म त हो । श्रीमतीको दिदीको पोइभन्दा त मोटरसाईकल नै नजिक हो । जो नजिक उसैको त माया लाग्छ नि । तनाब, शोक, रीसले मेरो टाउको खुकुरीले गिंडेर छालानै मात्रै अड्डिएको जस्तै झोल्लिएको थियो ।
म त्यसपछि बोलिन, दाइले पाखुरामा समाएर तानेपछि फर्किए । म भन्दा अघि नै गाडि र सानोबा घर फर्कनु भएछ ।
अनेकौं तर्कना खेल्यो । सधैं जसो, पालुङबाट तरकारी लिएर नौबिसेसम्म गाडि आउने र पल्टी गरेर फर्कने कुरा पनि दिमागमा कसो कसो आयो । रातको दश बजिसकेको थियो । एक घण्टा जत्ति लामो लाग्यो, एक सेकेण्ड बित्न पनि, मिनेट र घण्टा बित्न त बर्षौ लामो लाग्यो । ११ बज्यो । कुनै गाडि आएन ।
नौबिसेको वारी पारी गरिरह्यौं । १२ बजेपछि चाहिं कुनै उपाय नलाग्ने देखिए पछि उप्रेती चिया पसलको टेबलमा पल्टिएँ । के को निन्द्रा लाग्नु । कसैले खोके पनि ठूलो डर लाग्थ्यो । ४ बजेपछि नौबिसे आशिंक रुपमा उठ्यो, पाँच बजेसम्ममा त पूरै बजार उठ्यो । तर पनि एउटै गाडि गुडेको थिएन । बिहान साँढे ७ बजेपछि एउटा मारुती भ्यान आयो । पोखराबाट आएको रहेछ । बिरामी पु¥याएर फर्किएको । रातभरी अनिदो रहेको चालकले बताईरहँदा पनि हामी त्यो भ्यानलाई रिजर्भ हिड्न आग्रह गरिरहेका थियौं । हाम्रो मनोदशा त्यहाँका केहि स्थानीयलाई पनि थाहा थियो । हामीले केहि नभन्दा पनि उनीहरुले हाम्रो अनुहार (बिशेषत मेरो अनुहार)बाट पनि ठूलै पीडा पढिसकेछन । अनि हामीले हाम्रो कुरा भनेका थियौं । उनीहरुको जोड बलले पनि चालक पालुङ जान राजी भए ।
मलाई मन मनमा आज मेरो अन्तिम दिन रहेछ जस्तो पनि लाग्यो । बाभन्दा म ४२ बर्षपछि जन्मेको थिएँ, मृत्यु चाहिं एक दिनको मात्रै ढिलो चाँडो हुने भयो । मेरो जन्म तिथि, दशमी थियो, त्यो दिन नवमी । नजिकै त हो, नवमी दशमी । मलाई यस्तो सोच्न अरुले हैन, रिजर्भ गरिएको भ्यानको चालकको अनिदोपनले बाध्य बनायो ।
जीबनकै सबैभन्दा ठूलो शोक पर्दा पनि प धुमधुम्ती बस्न सकिन । किनकी मलाई मृत्युदेखि असाध्यै डर लाग्छ । क्यान्सरले थिलथिलो भएको बा को शरीर । क्यान्सरले दिने पीडा आफूले नभोगे पनि बा को हालत हेरेर मैले चेतेको थिएँ । अरुले जस्तै मैले पनि मेरो सबैभन्दा ठूलो शत्रुलाई पनि यो रोग नलागोस भनेर कामना गरेको थिएँ । मेरो बालाई बचाउन नसक्ने भगवानले अरुहरुका बालाई क्यान्सर लाग्नबाट बचाउन सक्छ सक्दैन, त्यो त मलाई थाहा छैन । मैले मेरो काम गरें । शत्रुलाई पनि क्यान्सर नलागोस । मेरो कामना यत्ति थियो ।
बा र मेरो मृत्युको खबर एकै पटक मेरो आफन्तले सुन्नु नपरोस भन्ने पनि मलाई लागेको थियो । त्यो भन्दा पनि मृत्युसंग नडराउने को होला र ? हुन त गायक तथा संगीतकार फत्तेमान राजभण्डारीले मर्न बरु गा¥हो हुन्न भन्ने गीत गाउन भाछ । हुन न नमरेकाहरुलाई मृत्यु कत्ति सहज वा असहज छ भन्ने कसरी थाहा हुनु र ?
जसरी पनि मलाई चालकलाई निदाउन नदिनु थियो, त्यो भन्दा पनि ज्यादा त मलाई नमरीकन पालुङ पुग्नु थियो । त्यही भएर बोलिरहें, चालकको निन्द्रा खोसीरहें । फलस्वरुप म नमरीकन पालुङ पुगें । तर दुभाग्य खैटेखोलोसम्म त मलाई गाडिले बोकेर नै ता-यो । घर्तिखोलाको बीचमा पुगेपछि गाडिले लत्तो छोडिदियो । हलचल नगरी अडिग रह्यो । चुपचाप बस्यो । अहँ जत्तिगर्दा पनि चाँ… चुँ गरेन । धुवाँ पनि फालेन ।
जुन बाटो आएको त्यही बाटो गाडिलाई फर्काउन कोशिश ग¥यौं । ठ्याक्कै तीन जना भएर । म त ओइलाएको मूला जस्तै भएको थिएँ, आफूलाई नगन्दा अन्याय होला, बेइमानी होला भनेर ईमान्दारीता निर्बाह गरें । खोलाबाट फर्किने बित्तिकै गाडि जोडले कराउन र धुवाँ फ्याक्न सक्ने भयो । बिचरोको धुँवा फ्याक्ने मुख नै पानीले भरिएछ, कसरी फ्याँकोस त धूँवा । अनि कसरी कराओस, धुवाँनै नफ्याले पछि ।
गोडामा लगाएको जुत्ता खोल्न र पाईन्टमाथि सार्न मलाई कस्लो सम्झाओस र । खोला तरिसकेपछि पो गज्याक गज्याक गरेर जुत्ताले परपरसम्म पानी फाल्यो । अघि खोलामा पानी खाएर गाडिले धुँवासंगै पानी फाले जस्तै ।
अब त नमरीकनै घर पुग्नै लागेको थिएँ, अनि छिटो घर पुग्नु पनि थियो । बजारमा चहलपहल पनि बढेको रहेछ । पसलका पेटी र घरका झ्यालबाट मानिसहरु हेरिरहेका थिए । खै तिनीहरुलाई नयाँ बेहुली गाउँमा भित्र्याउन लागे झैं लाग्यो कि ? मेरो टीठ लाग्दो र नियाउरो अनुहार हेरेर दया देखाउन मन लाग्यो । उनीहरु नै जानून । मैले पाप चिताए जस्तो होला यस्तो लेख्दा त । तै पनि मन मानेन, तिनीहरु मध्ये कत्ति त काखी बजाउन पनि उभिएका थिए होलान । त्यस्ता मान्छे पनि छन भन्ने त मैले मेरो बालाई बचाउनको लागि ऋण उठाउन र सापटी माग्ने बेलामा भोगेकै थिएँ ।
मलाई कहाँबाट शक्ति आईरहेको थियो, या कसैले बोलाईरहेको थियो । मेरा पाईलाहरु त एकदमै बेगले चलिरहेका थिए । मसंगै आएका दाइ पछाडि नै छुटिसक्नु भएको रहेछ ।
तर जब म अचम्ममा परें, तब नमराज काका सेतो कपडा र झारी लिएर मलाई खोलामै रोक्नु भयो । खोला नतर्न आग्रहका साथ लुगा खोल्न आग्रह गर्नुभयो ।
मैले पनि कुनै जवाफ नदिई फटाफट लुगा खोलें । गुप्ताङ छोपिरहेका बस्त्र खोल्न हुन्न भन्ने त मैले भुलेको थिईन । अनि कपाल मुण्डन शुरु भयो । केहि छिनमा टुप्पीका रुपमा राखिएका केहि थान रौं बाहेक शीरमा कुनै केश बाँकी रहेनन । जनै पनि नयाँ प¥यो आँङमा । पानी चढाएँ । लुगाका नाममा अब कछाड, त्यस भित्र लगौंटि नामको धरो र टाउकोमा झुप्पो मात्रै बाँकी रह्यो । बीचको भाग खाली नै थियो, तर पनि जनै त थियो । ढँटेलो पड्काईयो, बाटामै घ्यूको धूप हालें । अनि अबोद बालकले झैं त्यहाँ भेला भएका अग्रजहरुको निर्देशन पालना गरिरहें, आवाज बिहिन भएर ।
त्यस्तो छिटो छिटो चलिरहेका मेरा पाइलाहरु एका एक ग¥हौंै भए । मेरै हुन कि अरुका मैले ठम्याउन सकिन । मेरा पाईतालाहरु मेरो आदेशले चल्न छाडे । अग्रजहरुको आदेशले जबरजस्ती बिस्तारै बिस्तारै चल्न थाले । भर्खर दाउन लागेको बहर जस्तै एक दुई पाइलामै रोकियो । मेरो पनि पुच्छर भएको भए, मेरा अग्रजहरुले बेस्सरी निमोठ्थे कि ? बाऊ मरेको छ भनेर माफी दिन्थे कुन्नि ?
घर्तिखोलाबाट पुट्खेल खोलासम्म पुग्न लागेको जत्ति नै समय झण्डै झण्डै तीन सय मिटर हिड्नको लागि लाग्यो । घरको बलेसीमा गोडा पर्नु र मेरो एक जोडी आँखा आमाको आँखासंग चार भए, अनि के चाहियो र ? मुरली मकै फूल उठे जस्तै उछ्टिएर आँगन भरी भयो, अहँ पुछेर साध्य नै लागेन । छोप्दा पनि रोकिएन । मेरो आँखाबाट बगेका आँशुहरु कसले रोक्न सक्नु । न अग्रजहरुका सान्त्वनाले रोकिए न आफ्नै हत्केलाले छोप्न सकें । हत्केलाले छोपेर सुर्य छेकिँदैन भन्ने धेरै पटक सुनेको थिएँ । एक जोडी आँखा त छोपिदो रहेनछ । तर आज त हत्केलाले रोकेर के आँशु रोकिन्छ र भन्न मन लाग्यो ।
मैले बा को बारेमा धेरै सोचेको थिएँ । अस्पताल बस्दा पनि अरु धेरैका बाहरु बितेको देखेको थिएँ । उनीहरुको हाउभाउहरु देखेका थिएँ । बा गुमाएकाहरुसंगको अनुभबहरु पनि सुनिसकेको थिएँ । तर बा को निधन पछि आमाको रुपरङ र अबस्थाको बारेमा मलाई कसैले पनि भनेका थिएनन । मैले मेरी आमालाई त्यो रुपमा अचानक देंखे । जुन रुपको मैले कहिल्यै कल्पना गरेको थिइन । कल्पनै नगरेको कुरा अचानक देख्दा कस्तो भयो होला ? म शब्दमा त्यो अनूभुति उल्लेख गर्नै सक्दिन कसैसंग शब्द छ भने सापटी दिनुहोला है ।
धेरैबेर पछिको प्रयासले कसरी कसरी मेरो आँखा रसाउन छाडे, मैले त सोचे अब त आँशुको मूल नै सुकेछ । तर कहाँ हुनु जब आमाको आँखासंग मेरो आँखा चार हुन्थ्यो अनि फेरी बेस्सरी रसाईहाल्थ्यो । कहिले पो सकिदो रहेछ र आँशुको मुहान । यी आँखा पनि अचम्मका छन, अरुका आँखासंग ठोक्किँदा नरसाउने आमाको आँखासंग ठोक्किदा मात्रै रसाउने । यही त होला नि माया, ममता, मातृत्व, अपनत्व यस्तै यस्तै अनेक के के, के के ………
नौबिसेमा गाडि कुर्दा भन्दा केहि छिटो समय बितिरहेको थियो । तर बा हुँदा जत्तिको छिटो हैन । जसो तसो रात बिताईन्थ्यो, घाम गणेशस्थान पुगेपछि हामी पनि पछ्याउँथ्यो । नुहाई धुहाई, गरेर बाका नाममा पानी चढाईसकेपछि । पिण्डदान गरेपछि लाफामा पस्केर केहि गाँस भात जबरजस्ती निल्थ्यौं । अनि घर फर्कन्थ्यौं । कोही कोही बाउ मरेका बेला त हो नि घीउ भात खाने, खाओ टन्न भनेर उक्साउँथे । तेरो दाइ(माईलो ठूलो बाको छोरा)ले त बा मर्दा यत्ति मुठ्ठि चामलको भात र एक माना भात बुत्याउँथो । उसले एक दिनमा खाने भात यिनीहरु दुई भाइ भएर १३ दिनमा पनि नखाने भए । यस्तै यस्तै ।
पाँच दिन बित्यो, बिचारका नाममा चामलहरु आउन थाले, अनि गुठियारबाट पैसाहरु पनि । तिनै मध्येका केहि गुठियारले बा बिरामी हुँदा सापटी लिएको पैसा माग्न जाँदा महिना मर्नु पर्ने बताएर मलाई खाली हात पठाएका थिए । साउन बितेर भर्खरै भदौ शुरु भएको थियो, तिनैले सबैभन्दा पहिले पैसा लिएर आए । दाइले बा को क्रिया गर्न सक्षम रहेको बतारहनु भएको थियो, म पनि हो मा हो मिलाई रहेको थिएँ ।
त्यसमा खास तर्क र यथार्थ पनि थियो । मृत्यु पछिको ओखती र लगन पछिको पोतेका के काम थियो र । अब त हामीलाई बा लाई बचाउनु पनि थिएन र त पैसाको जरुरी थिएन । बा लाई बचाउने बेला नपाईएको पैसाको के काम हुन्थ्यो र ? यस्ता अनेकौं सत्य हाम्रा सामु थिए । बाहिर नदेखिने गरी भित्रभित्रै ठूलो चोट दिने बचनका घाउहरु त कत्ति हो कत्ति । ती घाउहरु बाहिर देखिएनन र त कसैले पनि फुकेनन । तर अहिले केहि रुपैंया ल्याएर पोलेको घाउ आगोले झैं सेकाईरहेका थिए ।
कस्तो गज्जबको तर्क, समाजमा बसीसकेपछि समाजको रीत मान्नु पर्ने रे । गुठियारका सदस्यहरुको मृत्यु हुँदा हाम्रो बाले पनि पैसा दिनु भएको थियो, त्यसैले हामीले पनि लिनु पर्ने रे । हाम्रो बाले गुठियारका सदस्यहरु बिरामी मर्दा सापटी दिनुभएको थियो, छोरा छोरी पढाउन सापट माग्नेहरुलाई आफैंले चर्को ब्याज तिरेर पैसा खोजिदिनु भएको थियो । आफ्नो जग्गा धितो राखेर बैंकबाट ऋण निकाली दिनुभएको थियो । त्यसको बारेमा म त जानकार थिएँ । सायद मेरो समाज जानकार थिएन । मृत्युपछि उठाउने पैसाको मात्रै साक्षी बस्ने, बिरामी पर्दा र अन्य गा¥हो सारो मर्दा साक्षी बस्न नपर्ने, बेखबर रहनु पर्ने धन्य मेरो समाज ।
हामीले समाजको कुरा मान्यौं, गुठियारले दिएको रकम स्वीका-यौं । क्रियाकर्म पूरा ग-यौं । मलाई फेरी पनि भन्न मन लाग्यो –मृत्यु पछिको ओखती र लगनपछिको पोते काम छैन । मेरो कुरालाई मेरो समाज र तपाँईको समाजले कहिले बुझ्ने होला ।

About Tekman Shakya

0 comments:

Post a Comment