कृषि पत्रिका 2013 April 01
नेपालमा बाख्रापालनका विभिन्न प्रणालीहरू प्रचलित छन् ।
बाख्रापालनको प्रणाली खास क्षेत्रको भौगोलिक वातावरण, त्यस क्षेत्रमा उपलब्ध हुने घाँसपात÷आहारा, बाख्राको जात तथा किसिम, कृषकको आर्थिकस्तर, उपलब्ध जनशक्ति तथा कति सङ्ख्यामा बाख्रा पालिने हो त्यसमा निर्भर गर्छ । बाख्रा विपन्न वर्गहरूले एउटा देखि व्यावसायिक उद्देश्यले हजारौंको खङ्ख्यामा पनि पालन गर्न सकिन्छ । नेपालको तराई क्षेत्र, पहाड तथा हिमालमा बाख्रा बेग्लाबेग्लै पद्धति अनुसार पालिने गरिन्छ । हाल नेपालमा बाख्रापालनका निम्न प्रणालीहरू प्रचलित छन्ः
• पगाहा प्रणालीः
यस प्रणालीमा एक, दुई वटा बाख्रा पालन गर्ने कृषकहरूले बाख्रालाई करीब २०—३० फिट जति लामो डोरीले बाँधेर खेतबारी, बाटा छेउछाउमा चराएर पाल्ने गर्छन । यसरी डोरीले बाँधेर पाल्ने प्रणालीलाई पगाहा भन्दछन् । बाख्रालाई राती वा बिहानबेलुका घरको बरन्डा पिँढी आदि स्थानमा बाँधेर राख्ने गरिन्छ । बाख्रालाई भान्साघरमा उबे्रको खाना, तरकारीको बोक्रा आदि आहारा, दिने गरिन्छ । नेपालको तराई तथा पहाडी क्षेत्रहरू विशेषतः शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न वर्ग तथा सानो सङ्ख्यामा बाख्रा पल्दा यो तरिका अपनाइन्छ । यस प्रणाली अन्तरगत ठूलो सङ्ख्यामा बाख्रा पाल्न सम्भव हुन्न ।
• बधुवा प्रणालीः
यस प्रणालीमा खसीबाख्रालाई बङ्गुर वा कुखुरा पाले जस्तै थलोमै घाँस आहारा दिएर पाल्ने गरिन्छ । खसीबाख्रा धेरैजसो समय खोरमै रहन्छन् तर घुमफिरका लागि खोरसँगै एक खुला चउरको व्यवस्था गरिन्छ । साधारणधारणतया १०० खसीबाख्राका लागि १० गुना २० मिटरको चउर भए पुग्छ । यस्तो चउरको छेउछाउमा छाँयादार डालेघाँसको बिरुवा रोपिदिएमा छहारी तथा स्याउला दुबै पाउन सकिन्छ । यो प्रणाली तराई तथा मध्यपहाडी क्षेत्रमा प्रचलित छन् । यस प्रणाली अन्तरगत सानो सङ्ख्याको साथसाथै उचित आहारा तथा घाँसको व्यवस्था गरेर व्यावसायिक रूपमा ठूलो सङ्ख्यामा बाख्रा पालन गर्न सकिन्छ ।
• अर्ध–स्वच्छन्द प्रणालीः
यस प्रणालीमा बाख्राहहरूका लागि विभित्र प्रकारका आवश्यक गोठहरू बनाइन्छन् । दिनको समय करिब ६–८ घण्टा चरन वा वन÷जङ्गलमा चराइन्छ । खसीबाख्राहरू उमेर, शारीरिक अवस्थाको आधारमा विभिन्न समूहमा बाँडिएका हुन्छन् । चरनमा खसीबाख्राहरू एक निश्चित अवधिसम्म स्वच्छन्द रूपमा चर्ने गर्दछन् । चरनमा पानी पिउन ठाउँठाउँमा व्यवस्था गरिएको हुन्छ । यस प्रणालीमा बाख्राहरूको आवश्यकता अनुसार थप आहारा, औषधि उपचार, नश्ल सुधार, आदिको व्यवस्था आवश्यकता अनुसार फार्ममा नै उपलब्ध गराइन्छ । नेपालमा पालिने बाख्राहरू मध्ये करिब ६५ प्रतिशत यस्तै अर्धस्वक्षन्द प्रणाली अन्तरगत पालिने अनुमान छ । धेरैजसो व्यावसयिक बाख्रा फार्ममा यस्तै आधुनिक प्रणाली अपनाउँनु उपयुक्त हुन्छ । यो प्रणाली नेपालको सबै भौगोलिक क्षेत्रमा प्रचलित छ । यस प्रणाली अन्तरगत सानो सङ्ख्याको साथसाथै उचित चरनको व्यवस्था गरेर व्यावसायिक रूपमा ठूलो सङ्ख्यामा बाख्रा पालन गर्न सकिन्छ ।
• घुम्तीगोठ प्रणालीः
हिमाली भेगमा पशुहरू चराउने ठूलठूला खर्कहरू हुन्छन् । यस्तो खर्कहरूमा मौसम अनुसार बाख्राभेडा लगायत अन्य पशुहरू चौंरी, गाई एक ठाउँबाट अर्को ठाउँमा सार्दै चरनमा चराएर पालन गरिन्छ । यसरी चरनमा चराउँदा गर्मी मौसम अर्थात् हिउँ नपर्ने समयमा उच्च लेक, ४०००–५००० मिटरसम्म उचाइँमा र शरद ऋतु, अर्थात् लेकमा हिउँ पर्न लागेपछि पशुहरूलाई तल्लो भेगमा अवस्थित खर्कहरूमा झारिन्छ । यस प्रणालीमा बाख्रा र भेंडाको बथान एउटै पनि हुनसक्छ । यसरी घुम्ती प्रणालीमा बाख्रा पालनगर्दा बाख्राको लागि कुनै खास गोठघर बनाइन्न । सानासाना तथा अशक्त पाठापाठीहरूलाई गोठालाहरू बस्ने मान्द्रोले बनाइएको अस्थायी छाप्रोमा बाँध्ने गरिन्छ ।
(Next circulation: Goat Farming- 4 नेपाली जातका बाख्राहरू Please be in contact)
0 comments:
Post a Comment