
टेकमान शाक्य,
१२ वैशाखमा गएको विनाशकारी भूकम्पको सन्त्रास करीब मत्थर हुँदै थियो । बस्न हुने घरहरुका व्यक्तिहरु आफ्नो घर फर्किसकेका थिए । उद्धार र राहत कार्यको देश दौडाहमा सरकार र राजनीतिक दल सहित विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरु थिए ।
अब त विनाशकारी भूकम्प आउँदैन भनेर टिप्पणी गर्नेहरुको बिगबिगी बढ्यो । भूकम्प आउँदै छ भनेर हौवा फैलाउनेहरुलाई खोरमा जाक्न पुलिस प्रसासन सफल भयो ।
मनोवैज्ञानिक रुपमा केही राहतका लागि भएपनि देशभरका विद्यालयहरु जेष्ठ १ गतेदेखि संचालन गर्ने भनियो । तर, सबै–सबैको मस्तिष्क खलल पार्दै १८ दिनपछि भूकम्पको ठूलो धक्का महसुस भयो । अचम्म त के भनेनी, १२ वैशखमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको ठिक १८ दिनपछि १२ मे तारिखमा त्यहि समय अर्थात मध्यान्ह १२ देखि १ बजेको बिच पारेर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो ।
भूगर्भविदको कुरालाई कसरी पत्याउने ?
पछिल्लो समय ४ देखि ५ रेक्टर स्केलको मात्रै भूकम्पहर सयौँ संख्यामा गैरहेको थियो । त्यसलाई १२ वैशाखमा गएको विनाशकारी भूकम्पको पराकम्पन भनियो । अब ठूलो भूकम्प नआउने भूगर्भविदहरुले भनिरहेपनि उनीहरुको अनुमानले सार्थकता पाएन । मंगलबार दिउँसो ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पले फेरी सन्त्रास फैलाएसँगै त्यो भूकम्प हो की पराकम्पा हो भन्नेमा नै भूगर्भविद्हरु अलमलमा परे ।
पराकम्पनले केही असर नगर्ने बताईएपनि १२ बैशाखकै तुलनामा १२ मे मा भूकम्प गएपछि भूगर्भविदहरु निक्कै अन्यौलमा परेका छन् । उनीहरु फेरी अर्को अध्ययन गर्नका लागि जुट्ने भएका छन् । अब आउँदैन भन्दाभन्दै फेरी ठूलो भूकम्प आएपछि भूगर्भविदहरुलाई यो के भएको भनेर सोध्नेहरुका लागि उत्तरहीन भैरहेका छन् ।
सरकारको अटेरीपन
अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले नेपालमा फेरी ठूलो भूकम्प आउन सक्ने बताईरहँदा नेपालले भने त्यसलाई हौवाको संग्या दिईरहे । सुरु भएको व्यवस्थापिका संसदको बैठकमा पनि सभासददेखी सरकारका मन्त्रीसम्मकाले अब ठूलो भूकम्प नआउने दाबी सहित सबैसँग नआत्तिन भनिरहेका थिए । तर, बैठकमै नआत्तिन आग्रह गर्दागर्दा आएको भूकम्पले सांसद आफैँ अत्तालिएर कत्ता तितरवितर भए त्यो पत्तो छैन । निक्कै भागदौड मच्चियो सभासदहरुले पनि ।
प्रधानमन्त्री शुशिल कोइरालाले पनि बारम्बार भनिरहे की अब कुनै त्यस्तो ठूलो भूकम्प आउँदैन भनेर । नभत्केका घरहरुमा बस्न समेत सरकारबाट आग्रह आयो । अब कुनै त्यस्तो ठूलो विनाशकारी भूकम्प नआउने दाबी सहित सरकार अटेरीपन गरिरह्यो । त्यसको परिणाम करीब थप १ सय जनाले ज्यान गुमाउनुपर्यो । थप करोडौँको भौतिक क्षति बेहोर्नुपर्यो । सरकारको आग्रह र आश्वासनलाई आम सर्वसाधारणले अब नपत्याउने भए ।
मध्यरातमा भूकम्पले लखेटेपछि…
१२ मे अर्थात बेशाख २९ गते मंगलबारको भूकम्पपछि पनि सरकार र भूगर्भविदहरुले त्यसलाई पराकम्पन नै भनिरहे । दोलखा केन्द्रबीन्दु बनाएर गएको यो भूकम्प आवश्यक रहेको र नआत्तिन सरकारले आग्रह गरे । कत्तिले पत्याएर घरभित्रै मस्त निदाए । कतिपय सर्वसाधारण सन्त्रासले घरभित्रको बास गर्न सकेनन्, उनीहरु सडको पेटी र खुल्ला चौरमा अस्थायी बसोबास गराए ।
अन्ततः मध्यराति १२ बजेसम्म पनि धेरै मानिसहरु अब भूकम्प नजाने आशामा ढुक्कले राती नै कोठामा गएर सुते । मध्यरातमा फेरी भूकम्पको ठूलै धक्का महशुस भएसँगै सर्वसाधारणहर मध्यरातमै सडकतिर ओर्लिए । रातको समयमा कोलाहाल मच्चियो । सबैसबै भूकम्पको ठूलो धक्कापछि रातारात घरहरुबाट लखेटिए । सर्वसाधारण अत्तालिए ।
काल बोलाउँदै सर्वसाधारण
बाँच्ने रहर कस्लाई पो रहँदैन र ? तर विनाशकारी भूकम्पले विचल्लीमा पर्नुपरेपछि सर्वसाधारण आफ्नो काल आफैँ बोलाईरहेका छन् । मर्नेहरु त मरेर गए, बाँच्नेहरुले भने निक्कै सास्ती खेपिरहनुपरेको छ । धादिङवेशीदेखि काठमाडौंसम्मको बस यात्राका क्रममा एक महिलाले निक्कै भावुक हुँदै भने,–‘बाबु यो के हुन खोजेको होला, बरु एकैचोटी सबैलाई पक्लक्कै मारिदिएको भए पनि हुन्थ्यो नी हामीलाई किन यसरी घिरिघिरि बनाएर राखेको होला यो पापी देवताले पनि ?’ उनी झन आक्रोस बन्दै भन्दै गईन्,–‘बाबु हामीलाई त काल पनि आउँदैन । बसुँ घर छैन, खान अन्न छैन । यसरि कत्ति दिन तड्पिने ?’ सर्वसाधारण यसरी नै कालको पर्खाईमा बसिरहेका छन् । उनीहरु निक्कै सन्त्रासमा बाँचिरहेछन् । के गर्ने र कसो गर्ने अन्यौलमा सर्वसाधारणहरु बाँचिरहेका छन् ।
राहत वितरणमा जसको शक्ति उसको भक्ति किन ?
१२ वैशाखको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति हुन पुग्यो । उद्धार कार्यलाई करीब अन्तिममा पुर्याएर प्रभावित जिल्लाहरुमा राहत वितरणको कार्यलाई तिब्रता दिईयो । जब राहत वितरण कार्य सुरु भए, सरकार र संघसंस्थाहरु सबै प्रभावित जिल्लामा केन्द्रीत भए । प्रभावित ग्रामिण क्षेत्रमा उद्धार टोली समेत पुग्न नसकेको समयमा पहुँच भएका ठाउँहरुमा भने राहत थुप्रियो । कुनै ठाउँमा भएका सबै संघसंस्थाहरु राहत वितरण टोली पुग्न भ्याए भने कुनै ठाउँमा कुनै पनि टोली पुग्न सकेनन् ।
राहत गएका स्थानहरुमा पनि सक्नेहरुले धेरै कुम्ल्याए, नसक्नेहरुले केही थोरैमा नै चित्त बुझाए । कत्तिपयले त, बारीका कुनाहरुमा पनि चामलका बोराहरु लुकाउन भ्याए । कत्तिले आँखाबाट तप्प आँशु निकालेर भएपनि एकमुठी चामल भिक मागेर फर्किए । नेता र सभासदहरुको गाविसबासीले त्रिपाल २÷३ वटा पाए । कत्तैका भूकम्प पीडितहरु अझै पनि खुल्ला आकाशमुनी रुझेरै भएपनि आफ्नो दैनिकी अघि बढाउन बाध्य छन् । यस्तो परिस्थितिमा सरकार सबै पक्षसँग समन्वय गरेर अघि बढ्न चुकेकै देखिन्छ ।
0 comments:
Post a Comment