३० रुपैयाँ बोकेर काठमाडौं छिरेका नारायणकाजी
७ भदौ, काठमाडौं । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दिनभरि के गर्छन् ? यसबारे चियोचर्चो गर्दै अनलाइनखबरको टोली एकाबिहानै ललितपुरको हात्तीवन पुग्दा उनी दुईजना सेक्युरिटी गार्डका साथ ‘मर्निङ वाक’का लागि गेटबाट बाहिरिँदै थिए । अनलाइनखबरको क्यामेराले ‘पापाराजी’ले जस्तै बिहानदेखि राति अबेरसम्म नारायणकाजीलाई पछ्यायो । यस क्रममा केही रोचक दृश्य र सूचना फेला पार्न अनलाइनखबरकर्मी सुरेश भुसाल र श्रीधर पौडेल सफल भए । असीन-पसीन हुँदै मर्निङवाकः नारायणकाजी बिहान ५ बजे मर्निङवाकका लागि घरबाट निस्कन्छन् । मर्निङवाक नगरेको दिन ज्यानमा फूर्ति नआउने उनको अनुभव छ । उनी सधैं एक घण्टा पसिना चुहिने गरी मर्निङ वाक गर्छन् । साथमा दुईजना सुरक्षाकर्मी हुन्छन् । काठमाडौंमा मर्निङवाकका लागि व्यवस्थित सडक पेटी र पार्क नहुँदा लाखौं मानिसको स्वाथ्यमा खेलवाड भएकोमा श्रेष्ठलाई चित्त बुझेको छैन । शारीरिक व्यायामः मर्निङवाकबाट फर्किएपछि श्रेष्ठ सामान्य व्यायाम गर्छन् अनि नुहाउँछन् । ईश्वरमा आस्था नराख्ने भौतिकवादी श्रेष्ठमा ध्यान र योगाले आत्माशुद्वी गर्ने विश्वास छ । उनी पूजापाठ र कर्मकाण्ड गर्दैनन्...