कसरी गर्ने व्यवसायिक कुखुरादेखि हाँसपालनसम्म ? यस्तो छ, कुखुरा पालनसम्बन्धी सम्पूर्ण विधि
लोकल कुखुरा, गिरीराज, न्यु हेम्पशायर, अष्ट्रालोप तथा हाँस • भरतराज गौतम लोकल शब्द अंग्रेजीबाट आएको भएपनि यसले नेपाली भाषाको शब्दकोशमा स्थान ओगटिसकेको छ । खासगरी खानेकुराको सवालमा लोकल भन्नासाथै उपभोक्ताहरु हुरुक्कै हुने गेको पाइन्छ । लोकल जातका कृषिजन्य उपजहरु मन पराइनुमा तिनको विशिष्ट स्वाद र सुस्वास्थ्यसँग सम्बन्ध हुनु हो । जसमा विभिन्न उत्पादनहरुले भूमिका खेलेका हुन्छन् । जस्तै लोकल तरकारी, फलफूल, अन्न वा अन्य बालीनालीहरु । लोकल पशुपक्षी र माछाका जातहरु । तिनको मासु, अण्डा, दूध आदि उत्पादनहरु । कुखुराको हकमा पनि लोकल कुखुरा भन्नासाथ धेरैले पुर्खाका पालादेखि पालिँदै आएका तथा नेपालमा भित्रिएर यहाँको स्थानीय वातावरण र कमसल व्यवस्थापनमा पनि हुर्कनेगरी क्षमता विकास गरिसकेका फरक खालका कुखुरा भनेर बुझ्ने गर्दछन् । यो बिशेष लेखमार्फत यहाँका रैथाने जातहरु जस्तै : प्वाँख उल्टे, साकिनी र घाँटीखुइलेका बारेमा उल्लेख गरिएको छ । यसका अतिरिक्त करिब ६० बर्ष अघिदेखि भित्रिएर लोकलसरह नै यहाँको हावापानीमा भिजिसकेका न्यु हेम्पशायर तथा अष्ट्रालोपजस्ता कुखुराको बारेमा बताइएको छ । तिनका वर्णशंकरक...