बाबुरामको नजरमा बी.पी
डा. बाबुराम भट्टराई, बी.पी. कोइराला हामीले सानैमा सुनेको र उत्सुकतापूर्वक लिंदै आएको व्यक्तित्वको नाम हो । उहाँ नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा अगुवा नेताको रूपमा स्थापित हुनुभएको कुरा सानैदेखि नै हामीले सुनेको थियौं । मैले बी.पी. कोइरालाका बारेमा २०१७–१८ सालमा सुनेको थिएँ । त्यतिबेला म छ–सात वर्षको थिएँ । त्यतिबेला तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्थाको विघटन गरेर सबै दलमाथि प्रतिबन्ध लगाए । निर्वाचित सरकारलाई अपदस्त गरेर सबै दलका नेतालाई जेलमा हाली शासनसत्ता आफ्नो हातमा लिएको अवस्था थियो । त्यस कदमको कांग्रेस र कम्युनिस्ट सबैले विरोध गरे । म त गोरखा जिल्लाको निकै पिछडिएको गाउँको बासिन्दा हुँ । त्यतिबेला त्यहाँ शिक्षाको ज्योति त्यति राम्ररी फैलिएको थिएन । गुरुकुल प्रथा नै थियो, आधुनिक स्कुलहरू थिएनन् । भर्खरै मैले अनौपचारिकखालको पढाइ शुरु गरेको थिएँ । मेरा मामा (जेठी आमाका दाजु) कृष्णप्रसाद न्यौपाने नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । २०१८ सालमा कांग्रेसका न...