के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?
टेकमान शाक्य माघ ८, २०८२ । झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह आक्रोशित हुँदै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले भाइरल भिडियो वास्तविक नभई एआई जेनेरेटेड (एआईले बनाएको) भनिरहेका छन्। तर हाम्रो तथ्यजाँचले भाइरल भिडिओ एआईबाट नबनाइएको देखिएको छ भने बालेन सचिवालयले पनि सो भिडियो वास्तविक भएको पुष्टि गर्दै निर्वाचन आचारसंहिता उल्लंघन हुने डरले बालेन आफैले रास्वपाका कार्यकर्ता एवम् समर्थकलाई सजग गराएर भीड नियन्त्रण गर्न खोजेको दाबी गरेको छ। के हो दाबी ? ७ लाख ४२ हजार फलोअर्स भएको ‘पाथिभरा न्यूज’ नामक फेसबुक पेजले झापामा बालेनले रिसाउँदै जनता थर्काउँदै गरेको दाबीसहित भिडियो सार्वजनिक गरेको छ । यो तथ्य जाँचको समयसम्ममा भिडिओले ९५७ लाइक, २९८ कमेन्ट, ८३ सेयर र ७६ हजार भ्युज पाएको छ । हेर्नुहोस् पाथिभर न्यूज नामक फेसबुक पेजले सार्वजनिक गरेको भिडिओको स्क्रिन रेकर्ड यो भिडियोमा ‘मेरो सूचना’ नामक फेसबुक पेजको लोगो देखिन्छ । ‘मेरो सूचना’ नामक फेसबुक पेजमा गएर हेर्दा भने हामीले यो भिडियो देखेनौँ।...