बर्मेली प्रजातन्त्रवादी नेतृको किशोरकालदेखिको नेपाल आउजाउ
काठमाडौ, वैशाख १४ - सन् १९८५ मा बेलायतको लन्डनस्थित बुर्क पब्लिसिङ कम्पनी लिमिटेडले विदेशीहरूलाई नेपाल भ्रमणका लागि उत्प्रेरति गर्ने उद्देश्य राखेर एउटा पुस्तक प्रकाशित गर्यो, लेट्स भिजिट नेपाल । नेपालको इतिहास, जनजीवन, संस्कृति र रंगीन सुन्दर तस्बिरहरूसहितको त्यो पुस्तक एक जना बर्मेली महिलाले लेखेकी थिइन्, जसका पति नेपाल विशेषज्ञ बेलायती थिए । हो, त्यही पुस्तककी लेखिका जेठ अन्तिम साता नेपाल आउँदै छिन् । उनी हुन्, नोबेल पुस्कार विजेता म्यान्मार (बर्मा)की प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी । प्रधानमन्त्रीसमेत रहेका बीपी मेमोरयिल ट्रस्टका अध्यक्ष सुशील कोइरालाको निमन्त्रणामा सुकी ३१ जेठमा नेपाल आउन लागेकी हुन्, जो दुई दिनको बसाइपछि १ असारमा फर्किने मोटामोटी टुंगो लागेको छ । बिमस्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका मुलुकहरूको प्रयास) सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला फागुन तेस्रो साता बर्माको राजधानी न्यापित पुगेका थिए । बर्मा भ्रमणकै क्रममा २० फागुनमा कोइरालाले सुकीलाई उनकै निवासमा भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही निम्तो स्वीकार गर्दै सुक...