पिंडा घटनाले निम्त्याएको पिडा-टेकमान शाक्य
प्राणि
मध्येको सर्वश्रेष्ठ भएर पनि हामी एकआपसमा विभेद गर्ने कुरामा पछि
पर्दैनौँ । मानिस सबै एकै हो भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि परम्परागत
रुढिबादीकोे कारण हामी बाध्य भएर बेलाबेलामा यस्ता विविध घटनामा मुछिन
पुग्छौँ । यहि विभेदको कारण नै विभिन्न अबस्था र परिस्थिति सिर्जना हुने
गर्दछ । विभेद जातीय, धार्मिक, सांस्कृतिक, बर्गिय ईत्यादी जे पनि हुन सक्छ
। धादिङको एउटा विभेदको घटनाले पनि त्यस्तै परिस्थिती निम्त्याएको छ । जुन
असान्दर्भिक र असभ्य छ । अहिलेको परिस्थिति भनेको जातित्व भन्दा पनि
नेपालित्वको संरक्षणको लागि लड्नुपर्ने अबस्था हो । तर विडम्वना भन्नुपर्छ,
जातीयताको आधारमा नेपालित्वको भङ्ग हुने अबस्थामा छ । सामाजिक एकता र
मेलमिलाप हुनुपर्ने ठाउँमा जातीय द्धन्दको कारण भएको एकता पनि भङ्ग हुने
अबस्थामा छ ।
यतिबेला पिंडा गाउँ
विकास समिति वडा नं. ५ मुलाखर्कको घटनाको स्थलगत अनुगमनको लागी
छुट्टाछुट्टै समुहहरु जाने क्रम जारी छ । फरक अनुगमन टोलिको फरक प्रतिवेदन
सार्वजनिक हुनुले, पनि बास्तविक घटनाको आथार्थ कुराहरु बाहिर आउन सकेको छैन
। विभिन्न संचार माध्यमहरुमा अन्तरजातीय विवाहको कारण सो घटना भएको भन्ने
समाचारहरु प्रकाशन तथा प्रशारण भएको थियो । अन्तरजातीय विवाहको कारण नै
यस्तो घटना घट्दो हो त, यो भन्दा पहिला पनि यसले स्थान पाउनुपर्दथ्यो । यो
भन्दा पहिले पनि गैरदलित र दलित समूदायका व्यक्तिहरुका बिच सोहि ठाउँमा
अन्तरजातीय विवाह भएको घटनाहरु भएका रहेछन् । यसै घटनाको सत्य, तथ्य र
यथार्थ जानकारी लिनको लागि म जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरुको
टोलिसँग स्थलगत अनुगमनको लागि गएको थिएँ । आषाढ १७ गतेदेखि चर्किएको र
बल्झिएको घटनाको बास्तविक र यथार्थ बुझ्न कठिन नै थियो ।सायद बर्खाको कारण
पनि हुन सक्छ, सबैजना खेतबारीको काममा व्यस्त देखिन्थे । त्यहि व्यस्तताको
बाबजुत पनि हामी उहाँहरुसँग कुराकानी गर्नको लागी घरघरमा पुगेका थियौँ ।
घटनाको कुनै ठूलो कारण छैन । यो घटनाले अन्तरजातीय विवाहको कारण मात्र होईन
की, व्यक्तिगत झगडाको कारणले पनि उग्र रुप लिएको रहेछ । गत आषाढ १५ गते
मेलामा जाने क्रममा मायाँ सापकोटा र बिन्दा विश्वकर्माको व्यक्तिगत भनाभन
परेको थियो । व्यक्तिगत भनाभनले झगडाको रुप लिएको केहि दिन बित्न नपाउँदै
नवराज विश्वकर्माले सम्झना सुवेदीसँग अन्तरजातीय विवाह गरेपश्चात गैरदलित र
दलित परिवारबिच सामूहिक झगडाको सिर्जना भएको स्थानीय सिताराम सुवेदी
बताउनुहुन्छ । यता दलित समूदायका व्यक्तिहरु भने अन्तरजातीय विवाहकै कारणले
गर्दा आफुहरु समूदायमा बस्न सक्ने अवस्था नरहेको बताउँछन् । दुबै पक्षको
छुट्टाछुट्टै भनाईहरु बताईरहँदा हामी दुबै पक्षको प्रायः परिवारमा पुगेका
थियौँ । बिन्दा विश्वकर्माका अनुसार गैरदलितहरुले आक्रमण गर्न आएको
बताउनुहुन्छ । गैरदलित समूदायका मानिसहरुले हामीलाई केहि गर्ने पो हुन् की ?
भन्ने डरले भागेर ज्यान बचाएकाले उनिहरुले केहि गर्न भने नसकेको बिन्दा
बताउनुहुन्छ । घटनाको यथार्थ बुझ्नको लागि हामीले स्थानीय बालबालिकाहरुको
पनि सहयोग लिएका थियौँ । उनिहरुले अहिले नवराज विश्वकर्मा र सम्झना सुवेदी
बाहेक अरु सबैजना घरमा नै रहेको बताएका छन् । गत आषाढ १७ गते डोलभञ्ज्याङ
उच्च माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १९ वर्षिय नवराज
विश्वकर्माले र कक्षा ७ की १३ वर्षिय सम्झना सुवेदीलाई भगाएर विवाह
गरेपश्चात दुई पक्षबिच विवाद चर्किएको जिल्लामा कार्यरत दलित संघसंगठनहरुको
विज्ञप्तीमा उल्लेख छ ।
दुई
पक्षको विवाद चुलिँदै जाने क्रममा गत आषाढ १८ गते विहान, करिब ३० जना
गैरदलित समूदायका व्यक्तिहरु दलित परिवारमा गएको गैरदलित र दलित दुबै
पक्षले स्वीकारेका छन् । अन्तरजातीय विवाह पश्चात दलित समूदायका
विद्यार्थीहरुलाई शिक्षकले विद्यालयबाट निस्काशन गर्ने धम्की दिएको कुराहरु
बाहिर आएको थियो । तर सोहि विद्यालयका पूर्व–प्रधानाध्यापक रामबहादुर
सुवेदीले भने शिक्षकको तर्फबाट कुनै गल्ति नभएको र आरोप मात्र भएको
बताउनुभएको छ । मैले विद्यार्थीलाई नै गएर बास्तविकता बुझ्ने क्रममा,
आफुलाई त्यस्तो व्यबहार नदेखाएपनि साथीहरुलाई भने सरहरुले दुव्र्याबहार
गर्नुभएको विद्यार्थी हिरा विश्वकर्माको प्रतिक्रिया छ ।
घटनाले
उग्र रुप लिँदै जाने क्रममा विभिन्न संचारमाध्यमहरुले विभिन्न शिर्षकमा
समाचारको प्रमूख खुराक बनाउने अवसर पाएका थिए । यस घटना राष्ट्रिय स्तरको
संचारमाध्यममा मात्र होईन अन्तरराष्ट्रिय संचार माध्यममा समेत छरिएको छ ।
विवाद बढ्दै जाने क्रममा गैरदलित परिवारका व्यक्तिहरु हातहतियार सहित दलित
परिवारमा प्रवेश गरेको घाईते ईन्दिरा सुवेदी बताउनुहुन्छ । उहाँले टाउको
लेखाउँदे भन्नुभएको थियौ,“मेरो टाउकोमा हेर्नुस् त ? उनिहरुले हानेको चोटको
खत अझै पनि आलो नै छ ।” उहाँको खुट्टामा पनि असर परेके रहेछ । तर खुट्टामा
भने भाग्ने क्रममा अल्झिएर असर परेको उहाँको प्रतिक्रिया थियो । विवादले
उग्र रुप लिएलगतै सम्झना सुवेदीका आमा पम्फा सुवेदी र बुबा परशुराम
सुवेदीले बालविवाहको मुद्धा दर्ता गराउनुभएको छ । वालविवाह, अन्तरजातीय
विवाह र व्यक्तिगत झगडा सबै जोडिएकाले मानवअधिकारकर्मीहरु समेत यस घटनाको
विषयमा अन्यौल बनेका छन् ।
अन्ततः
पिंडा–५ मुलाखर्कको जातीय द्धन्दबाट निम्तिएको घटनाले पिंडाबासिलाई केहि
समयदेखि पिडित बनाएको छ । बास्तविक रुपमा भन्ने नै हो भने, मानिस एक
सामाजिक प्राणि भएको कारण समाजमा मिल्नुको विकल्प छैन । आगामी दिनहरुमा
यस्तो घटनाले निरन्तरता नपाओस् भन्ने हाम्रो चाहना हो । एकाईसौँ सताब्दिमा
आईपुग्दा पनि जातिय छुवाछुतको कारण समूदायमा बस्न नसक्ने बाताबरण सिर्जना
हुन्छ भने, अबका भावि पुस्ताहरुमा पनि यसको प्रत्यक्ष छाप पर्न जान्छ ।
यसको लागि हामि सबैको पहल आवश्यक छ । साँच्चै भन्ने हो भने, विभिन्न
संघसंस्थामा आवद्ध रहेर काम गर्ने व्यक्तिहरुले पनि बाहिर जतिसुकै खोक्रा
भाषण ठोकेपनि भित्रि रुपमा विभेदलाई न्युनिकरण गर्न सकेका छैनन् । समाज र
राष्ट्र सबैको हो, त्यसैले सबै समान छ । समाज र सामाजिक एकताको लागि हामि
सबैजना मिल्नुको विकल्प छैन । अझ भन्ने हो भने, जातीय छुवाछुतको अन्त्यको
लागि आफुबाट नै प्रयास र प्रयत्नहरु अगाडी बढाउनु आवश्यक देखिन्छ ।

Comments
Post a Comment