दिलशोभामाथिका धेरै आरोप पुष्टि
काठमाडौं, जेठ ६ – आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लगाइएको यौनदुराचारको आरोप पुष्टि नभए पनि उनले अवैध रुपमा बालगृह संचालन गरेको पुष्टि भएको छ । उनले बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको, बुढाबुढी राख्ने ठाउँमा बालबालीका राखेको र बालगृहका बालबालिकालाई गैरकानुनीरुपमा बाहिर पठाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो ।श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना लगाएर तयार पारेको अनुसन्धानबाट यो तथ्य पुष्टि भएको हो । यद्यपी दिलशोभामाथि लागेका कतिपय ओरोपको बारेमा भने प्रहरी अनुसन्धान प्रवेश नै गरेको छैन ।
दिलशोभमाथि लगाइएका आरोपहरु पढ्न यहाँ क्लिक गर्नुहोसः
कहाँ गए १६ बालबालिका ?
आमाघरमै आयोजित पत्रकार सम्मेलनमा दिलशोभाले चार बालबालिकालाई विदेश पठाएको स्विकार गरेकी थिईन् । तर ती बालबालिकालाई कहाँ, कसरी पठाइयो, उनीहरु को को थिए र कुन अवस्थामा छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरेको छैन् । आमाघरको लिखित तथ्यांकमा ४९ जना बालबालिका रहेको देखिन्छ । त्यसमा ४८ जना कर्णालीका र एकजना मात्र काठमाडौका सडक बालबालिका भएको उल्लेख छ । तर आमा घरको अनुगमन गर्दा भने ३३ जना बालबालिका मात्र फेला परे । बाँकी बलबालिका कहाँ गए ? यसबारेमा भने प्रहरी अनुसन्धान मौन छ । त्यस्तै दिलशोभामाथि हुण्डीमार्फत रकम पठाएको आरोप छ तर त्यसबारेमा पनि अनुसन्धान नगरीएको प्रतिवेदनलाई उद्धृत गर्दै स्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको उजुरीको आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यहाँ आश्रित बालबालिकाको अवस्था ठीक नभएको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै जिल्ला प्रशासनले २०७० फागुन १४ गते बालबालिकाको उद्धार गरेको थियो ।
अनुगमनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले अनुगमनको प्रतिवेदन र भिडियो क्लिपसहित महानगरीय प्रहरी परिसर काठमाडौलाई अनुन्धान गर्न निर्देशन दिएको थियो । प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन जेठ ४ गते काठमाडौ परिसरलाई बुझाइएको हो । प्रतिवेदन अब प्रहरी महानिरिक्षकलाई बुझाउने तयारी पनि भइरहेको छ ।
एसएसपी खरेल के भन्छन् ?
एसएसपी रमेश खरेलले प्रतिवेदन तयार भएको पुष्टि गरे । खरेलले भने, ‘हामीलाई जसले अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो त्यसलाई नै प्रतिवेदन बुझाउने छौ ।’ उनले जिल्ला प्रशासन कार्यालयलाई प्रतिवदेन बुझाइने बताउँदै प्रतिवेदनको बारेमा थप केही बोलेनन् । उजुरीकर्ताले फोन संवादको आधारमा दिलशोभा यौन दुराचारमा संलग्न रहेको दावी गरेपनि अनुसन्धानले त्यस्तो नदेखाएको अनुसन्धानमा संलग्न एक प्रहरीले रातापाटीलाई बताए । यौन दुराचारको खबर पुष्टी नभएपछि मंगलबारको अंकमा नागरिक दैनिकले माफी मागीसकेको छ । दिलशोभाले प्रगोग गर्ने मोबाइल र आमाघरमा रहेको फोनको कल डिटेल अध्ययन गर्दा उजुरीकर्ताले दावी गरेको तथ्य मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।
biscuitयौन दुराचार पुष्टि नभए पनि दिलशोभाबाट गैर कानुनी काम भइरहेको भने पुष्टी भएको छ । बालगृहमा राख्न भनी ल्याएका बालबालिकालाई बाहिर पठाएको, शारीरिक यातना दिने गरेको र म्याद सकिएका अखाद्य तथा गुणस्तरहीन खानेकुरा खुवाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्रहरी अनुसन्धानमा पुष्टि भएपछि दिलशोभालाई कस्तो सजाय हुन्छ त ? यसबारेमा एसएसपी खरेलले भने, ‘सजाय दिने हामी होइन, जिल्ला प्रशासनले के गर्छ त्यस विषयमा उसैलाई सोध्नुहोला ।’ चर्चित ब्लग माइसन्सारले यसबारेमा त्यहाँका बालबालिकाहरुसँग कुराकानी गर्दा ती बालबालिकाले दिलशोभाले त्यहाँको सामग्री बेचबिखन गरेको खुलासा गरेका थिए ।
सहयोग सामाग्रीको विक्री
आमा घरलाई सहयोग गरिने खाद्य सामाग्री पनि दिलशोभाले बेच्ने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार दिलशोभाले आफनै भाइ मनोरञ्जन गोपालीको हातबाट बेचेको पुष्टि भएको छ । त्यस्तै आमाघरमा बृद्धबृद्धा राख्ने ठाउँमा बालबालिका राखीनु पनि त्यहाँको विधान विपरित भएको अनुसन्धानले देखाएको छ । काठमाडौमा आमाघर सञ्चालन गर्न अनुमति लिइएकोमा त्यसलाई बाग्लुङमा पनि विस्तार गरीएको छ ।
बालबालिका राख्न दिलशोभाले अलग्गै अनुमति लिनुपर्ने हुन्छ तर त्यस्तो कुनै पनि प्रकारको अनुमति नलिई पाँच वर्षदेखि बालगृह सञ्चालन गरिएको प्रहरी स्रोतले जनाएको छ । कानुन मिचेर यसरी बालबालिका किन राखेको त ? भन्ने जिज्ञासामा एक प्रहरीले भने, ‘दिलशोभाले बालगृहमा राख्ने भनि बालबालीका ल्याउने र उनीहरुलाई घरेलु श्रमीकको रुपमा पठाउने गरेको प्रमाण हामीले फेला पारेका छौ । सावित्री श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पुष्पराज बज्राचार्य, पूर्ण देवी कंसाकारलगायतकहाँ बालबालिकालाई पठाएको छ । अनुसन्धान प्रतिवेदनमा यसबारेमा विस्तृत रुपमा उल्लेख छ ।’
Comments
Post a Comment