दुई संस्कृतीको विवाहले निम्त्याएको कौतुहल
गाउँमा सबैको प्रिय । धार्मिक हिसाबले क्रिस्चियन । परिवारका अन्य
सदस्य भने हिन्दु । विहान सुतिरहेको थिएँ । मोबाईलमा घण्टी बझ्यो । फान रिसीब गरेँ । उताबाट आवाज आयो,–“बाबु घर कहिले आउने ? मेरो बिहे १८ गतेका लागि फिक्स भयो जसरी पनि आउनुपर्छ है ! घरतिर पनि यसो चाँजोपाँजो हेर्नुपर्ला ।” गोविन्द अंकलको मात्र होईन उहाँको बहिनी या भनौँ निनी हिराको पनि एकैचोटी विहे हुन लागेको रहेछ । मनमा खुलदुली सुरु भयो । क्रिश्चियन धर्ममा आवद्ध अंकलको बिहे कसरी हुन्छ होला भन्ने ।
![]() |
| टेकमान शाक्य । |
कहिल्यै पनि नदेखिएको क्रिस्चियन विवाह हेर्नका लागि अहिल्यै नै घर जाउँ जस्तो लाग्यो । तर पेशाले पत्रकारीता गर्ने भएकाले पनि भन्ने वित्तिकै जान पाउने अवस्था थिएन । अंकलको बिहेका लागि नै म १७ गते धादिङ गएँ । चर्चमा सामग्रीहरुको सज्जावट मिलाउनुपर्ने भएकाले घर जानेबित्तिकै आफुले सक्ने केहि सहयोग गर्ने प्रयास गरेँ । धेरै दिनपछि घर गएकोले पनि सोचेजस्तो सहयोग गर्नमा भने असमर्थ रहेँ । कारण सबैसँग हात मिलाउँदै अभिनन्दन गर्नमा नै व्यस्त हुन्थेँ । लामो अन्तरालपछि भेट भएको समयमा पनि हाई हेल्लो नगरे साथिहरु रिसाउने पो हुन् की भन्ने डरले पनि मनमा आतंक बढाईरहेको थियो ।
भोलीपल्ट १८ गते उठ्ने क्रममा विहान धेरै नै छिप्पिसकेछ । बाहिर टनटनापुर घाम लागिरहेको थियो । बल्ल बल्ल घर गएकोले पनि अलिक धेरै निन्द्रा लागेको महसुस गरेँ । पहिलेदेखि नै धेरै समय सुत्ने मेरो बानी । घरमा हुँदा आमाले चाँडै उठ्न भन्दै सँधै कराउनुहुन्थयो । “तँलाई घाम कहाँ पुगिसक्यो ! छिटो उठ कुलुङ्गारको सन्तान” भन्दै आमाले ओछ्यानमै आएर करकर गरिरहनुहुँदा कुनै बेलामा त सपनामा नै उहाँले कराउन आउनुभएको जस्तो लाग्थ्यो । झल्याँस्स बिउँझिदा आमाले कराईरहनुभएको देख्थेँ । हाई काढ्दै बिस्तारै उठ्न भ्याएको छैन आमाले गिलासमा चिया तयार पारिसक्नुभएको हुन्थ्यो । भर्खर घरमा आएको छोरो भनेर पनि हुन सक्छ यसपाला भने आमाले एकाविहानै उठाउनुभएन । यसपाला घरमा जाँदा गोविन्द अंकलको बिहे कसरी हुन्छ होला भनेर धेरै सोचिएको भएर पनि हुन सक्छ, निन्द्रामा पनि त्यस्तै देखेको थिएँ ।
कताकताबाट अंकलको आवाज गुन्जियो । भन्दै हुनुहुन्थ्यो,– “ओई कुम्भकर्ण कत्ति सुतेको, उठ्ने बेला भएको छैन ?” त्यति ठूलो स्वरले कराउँदा पनि म नबोलेको देखेर उहाँले अझै थप्दै हुनुहुन्थ्यो,– “हैन किन नबोलेको ओई बाबु, अब उठ्नुप¥यो जन्ती जाने बेला भैसक्यो ।” अंकलले भन्नुभएको अब जन्ती जानुप¥यो भन्ने शब्दले मलाई झस्कायो । बिस्तारै उठियो । त्यसपछि अंकलको बिहे कसरी गरिन्छ होला भन्ने प्रतिक्षामा बसिरहेको थिएँ । ईन्द्रनारायण, रामकाजी, शरण लगायतले मलाई चर्चमा गएर केहि काम गर्नुपर्ने बताएपछि हामी त्यतातर्फ लाग्यौँ ।

सुनसान थियो चर्च । काम गर्ने मेलोमेसो नै पाईन मैले त । बिहेको दिनमा पनि हामी बाहेक कोहिको पनि उपस्थित देखिदैन थियो । चर्चमा नै दुलाहा र दुलही आएर बिहे गर्नेले फरक महसुसको आभाव महसुस थियो । अहिलेसम्म थाहा पाएसम्म बिहे त दुलहीको घरमा दुलाहा र जन्ती गएर गरिन्थ्यो । क्रिश्चियन परम्परामा त चर्चमा दुलाहा र दुलही एकै ठाउँमा भेला भएर पो हुँदोरहेछ । केहि समयपछि दुलाहा र दुलहीका लागि साथि छनौट गरेर चर्चबाट फर्कियौँ । भोक लागेकाले केहि समय भोजनमा व्यस्त भयौँ । मध्यान्हको १२ बजेको समय । सबैजना १५ मिनेटको बाटो हिडेर नै फेरी चर्चतिर गयौँ । त्यहाँ पुग्दा दुलही या भनौँ अहिलेको अण्टी सरस्वती पनि तयारी अवस्थामा चर्चमा नै आईसक्नुभएको रहेछ । हेर्दा देखिन्थ्यो, कुनै साँस्कृतीक कार्यक्रमको आयोजना गर्न लागिदै छ । स्टेज कार्यक्रमका लागि आवश्यक पूर्वाधारहरुको व्यबस्था मिलाईएको थियो । माईक सिस्टम समेत जडान थियो । सबैभन्दा अगाडी पवित्र बिबाह लेखिएको थियो । दुलही पक्षबाट मानिसहरुको उपस्थित धेरै थिएन । मात्र आमा, दाई र केहि अभिभावकहरु । केहि समयको पखाईपछि दुलाहा र दुलहीको उपस्थित भयो ।
राजधानीबाट जानुभएका विवाहका लागि उपस्थित पास्टर जोन पुनालुरले औपचारिक कार्यक्रमको सुरुवात गर्नुभयो । सबैजनाले तालि बजाएर कार्यक्रमको औपचारिकता घोषणा भयो । प्रभू एशूको नाममा आँखा चिम्लिएर केहि प्रार्थनामा ब्यस्त भए । मेरो आँखा भने खुल्ला नै थियो । क्यामरा मेरो हातमा भएकाले २÷४ वटा फोटो सुट गर्नुपर्ने जिम्मेवारी पनि थियो । दुलहीको रुपमा उपस्थित सरस्वती हामि सँगै केहि समय अघि अध्ययन गरेकी सेतो साडीमा र अंकल सुट पाईन्टमा चरिचट्ट देखिन्थे । अंकल आण्टीको बिहेलाई अचम्मित पारारे मुसुमुसु हाँस्दै अवलोकन गर्दै थिएँ ।पास्टर जोन पुनालुरले बिबाहको बारेमा विधि अघि बढाउँदै लैजानुभयो । प्रभू ऐशूका बारेमा प्रार्थना गर्दै बैबाहिक जीवनका लागि आवश्यक पूर्वाधारका बारेमा जानकारी दिँदै हुनुहन्थ्यो । उहाँको अभिव्यक्तिले म पनि निक्कै नै प्रभावित भैरहेको थिएँ । विवाह भनेको सँधै सहकार्य गर्ने बन्धन हो । एकले अर्काको बिश्वासमा मात्रै विवाह सम्भव छ । प्रधानन्यायाधिस चयन गर्दा जस्तै पास्टरले बिबाह असम्भव हुनका लागि कुनै कारण भए प्रमाण सहित उपस्थित हुन खुल्ला गरिरहनुभएको थियो । दाबी तथा बिरोधमा कसैले पनि नबोलेपछि सबैले एकैचोटी उहाँहरुको बिबाह सम्भव र ठिक छ भन्ने प्रमाणित भयो । त्यसपछि औपचारिक बैबाहि प्रक्रिया सुरु भयो । क्रिश्चियन परम्परामा ४ कुरा पुरा भएमा मात्रै बिबाह सम्भव हुने पास्टरको भनाईले म झनै बिबाहको बारेमा बुझ्न उत्सुक हुँदै थिएँ । उहाँले भन्दै हुनुहुन्थ्यो,– “सामाजिक अवस्था, देशको कानुन अनि क्रिश्चियन परिवारको भएमा मात्रै पवित्र बिबाह सम्भव छ ।” साँच्चै भनेको बिबाह भनेको त यस्तो पो हुनुपर्छ । कुनै कर बाध्यतामा पनि बैबाहिक जीवन सुखी र खुसी हुन सक्छ र ? बिबाहको प्रक्रियाका क्रममा दुबै जनालाई सथप ग्रहण गराईएको थियो । पास्टर जोनले दुबैजनालाई एक आपसमा हात समाउन लगाएर बैबाहि बन्धनका लागि सपथ खुवाँदै गर्ने क्रममा मलाई देशको मन्त्रीहरुले खुवाएको सपथ ग्रहणको सम्झना आईरहेको थियाये । सथप ग्रहणमा दुबै जना आपसी समझदारी गर्दै मुसुक्क मुस्कुराउँदै सबैको अगाडी सपथ ग्रहण गरेको देखेर समाजमा नौलो बिबाहको स्वाद लिन पाएकोमा हर्षित हुँदै अचम्मित र तल्लिन थिएँ । विवाह पछि कुनै खोट नआओस् भन्नका लागि दुबै जना बैबाहिक जीवनमा गाँसिएको भन्ने प्रमाणपत्रमा हस्ताक्षर समेत भैरहेको थियो । केहि समयपछि पाष्टर जोनबाट त्यो दिनदेखि बैबाहि जीवनमा बाँधिएको प्रभाण स्वरुप र्चचको तर्फबाट प्रमाण–पत्र हस्तान्तरण गरियो । बिबाह सकियो । हामी सबैजना दुलहीलाई लिएर घर फर्कियौँ ।
भोलीपल्ट बैशाख १९ गते निनी हिराको बिवाह थियो । उहाँको भने फरक संस्कारले । अंकलको बिबाहमा जे भएको थियो, निनिको बिबाहमा फरक ढंकले प्रक्रिया अघि बढ्यो । निनिको बिबाह हिन्दु परप्पराबाट सम्पन्न हुँदै थियो । समाज हिन्दुमा बढि बिश्वास गर्ने भएकाले पनि त्यो दिन आफन्त र गाउँलेको चहलपहल बढि नै देखिन्थ्यो । भोजको व्यबस्था थियो । पाल्पा–भञ्ज्याङ भन्ने ठाउँबाट दिउँसो जन्ती आयो । बाजा गाजाको साथमा दुलाहालाई लिएर जन्ती आएका थिए । धार्मिक परम्परा अनुसार उहाँलाई स्वयम्बर गरियो । दाईजो दिने क्रम सुरु भयो । अंकलको बिहेमा जस्तो निनीको बिहेमा सपथ ग्रहणको कार्यक्रम थिएन । त्यहाँ त बाहुनले मन्त्र फलाकिरहेको देखिन्थ्यो । कहिले हातमा अक्षता लिन लगाउँथ्यो त कहिले के के झण्झटिला बिधिहरु अपनाईरहेको देखिन्थ्यो । हेर्दा निनि पनि बैबाहिक जीवनमा बाँधिनका लागि तयार र खुसी देखिनुहुन्थो । तर उहाँलाई भने प्रमाणपत्र दिने काम भएन । शुभ विवाहका क्रममा दाबी बिरोधका लागि कसैलाई अवसर प्रदान गरिएन । बिबाहका लागि आवश्यक पूर्वाधारका विषयमा पनि कसैले बिश्लेषण गरेनन् । साँझ परेपछि उहाँलाई दुलाहा र जन्ती मिलेर अन्माएर लगे ।अन्ततः दुई दिनसम्म दुई संस्कृतीले धमाका सँगै अंकल र निनीको बिबाह भएपनि घरमा पारिपारिक सदस्य घटेको पनि थिएन बढेको पनि थिएन ।
घरबाट एकजनालाई हिन्दु संस्कारबाट बिदाई गरेर पठाईएको थियो भने अर्काको छोरीलाई क्रिश्चियन संस्कारबाट घरमा भित्रयाईएको थियो । यसपाला एकैचोटी दुबै विवाह हेर्ने अवसर जुट्यो । बिबाह भनेको दुबै आत्मा बिचको बलियो दिर्घकालिन सम्बन्ध हो । यससमा कसैको कर र रहरले जीवन सुखी र खुसी हुन सक्दैन । लाखौ खर्चको चाङ लगाएर विवाह पछि कसरी ऋण तिर्ने भन्ने तनाव सिर्जना गरेर जीवनलाई निराशा बनाउनुभन्दा औपचारिक रुपमा आपसी विश्वास गर्ने दुई जनालाई बन्धनमा बाँध्नका लागि उताउलो पारा देखाउनु राम्रो होईन । जीवन व्यतित गर्ने २ जनाले हो भने त्यहि २ जनाको समर्थन र स्वीकृतमा नै बिबाह हुनुपर्छ । जुन धार्मिक परम्पराले बैबाहिक जीवनमा बाँधिले भएपनि दुई जनाबिच खोट आउने परिस्थिति भने निम्तनु हुन्न ।
शाक्य रेडियो पत्रकार हुन् ।
रातोपार्टीमा २०७१ बैशाख २८ गते छापिएको मेरो लेख
शाक्य रेडियो पत्रकार हुन् ।
रातोपार्टीमा २०७१ बैशाख २८ गते छापिएको मेरो लेख

Comments
Post a Comment