म र सुनखानी माबि

Displaying tekman photo.jpgउज्ज्वल भविश्य निर्माणका लागि अहम भुमिका खेल्न प्रेरणा दिने मेरो प्यारो विद्यालय सुनखानी माध्यामिक विद्यालय सँधै मेरो मानसपटलमा लुटपुटाईरहन्छ । अझ भनौँ भने हामीलाई सकारात्मक बाटोतर्फ डोहो¥याई अगाडी बढ्नुहुने शिक्षक शिक्षिका प्रेरणाका मुहान हुनुहुन्छ । करिब ६ वर्षको उमेर हुँदा मैले यस विद्यालयबाट शिक्षाको प्रारम्भ गरेँ । अनि सुनौला भविश्य निर्माणका लागि संघर्षशिल पाईलाको आरम्भ पनि । आरम्भको पाईला नाङ्गो थियो । त्यसैले त ती पाईलाहरुमा खिल रोप्पिने काम भयो । तर त्यहि खिलको रोपाई आज अमृत समान बनेर निस्केको छ । संसार कस्तो हुन्छ भन्ने जिज्ञासा र खुलदुली मेरो मनले नखोजिदिएको भए, अनी पढाईको व्यख्या र अनुशासनको पठन मैले नस्वीकारेको भए म त्यहि पुरानै तहमा नै सिमित रहन्थेँ होला । तर आज म प्राचिन संसारको परिकल्पना गर्ने नियमलाई परिवर्तन गर्दै नयाँ बाटोको निर्माण गर्ने कोशिसमा छु । उद्देश्य के लिनु, उठि छुनु चन्द्र एक भन्दै आज म भविश्य भेट्टाउने आशामा निरन्तर दौडाहमा छु । दौडाहका शिलसिलामा अनेक बाधा र अडचन आईपरेपनि विद्यालयले सिकाएको व्यवहारिक र नैतिक शिक्षालाई प्रयोग गर्दै अगाडी बढ्ने प्रयत्नमा छु ।

विक्रम संवत् २०१९ सालमा स्थापना भएको यस विद्यालयमा हाल माध्यामिक तहसम्मको शैक्षणिक कार्यकलाप हुन्छ । शैक्षिक सामग्री विहिन कठिन अवस्थाबाट गुज्रिएर पनि विद्यार्थीहरुलाई पठनपाठन गराउने अठोट लिएकै कारण आज विद्यालय र विद्यार्थीको भविश्य सुन्दर बन्दै छ । आखिर छैन भनेर चुप लाग्नु र प्रयास गर्नुको एक उदाहरण नै यहि विद्यालय र विद्यालयको प्रगती नै हो । त्यस्तै वातावरणको हावा खाएर हुर्किने मध्येको एक छात्र हुँ म पनि । विद्यालयको बारेमा सबै कुरा सर्वबिद्धितै नभए पनि केहि कुराको बारेमा भने सुक्ष्म जानकारी भएकै कारण अतितका केहि कहानीहरु पोख्ने प्रयत्न गर्दै छु ।

कक्षा १ मा विद्यालय प्रवेशको संघारमा चुपचापको बेहोरा भएको बालक थिएँ रे म । जसले जे भनेपनि त्यहि काम गर्न अघि सर्ने एक सुस्त मनस्थिति जस्तै थिएँ रे म । मलाई अहिले पनि याद छ, एकदिन मैले गृहकार्य नगरेको भन्दै सरले गालि गर्नुभयो । सबैलाई गालि गरेपश्चात सबैलाई भोलिपल्ट आउँदा लौरो लिएर आउन आग्रह गर्नुभयो सरले । सबैलाई थाहा भयो त्यो लौरो ल्याउनु भनेको आफैले कुटाई खानु हो । तर मलाई यति मात्र थाहा थियो की, सरले भन्नुभएको कुरा सबै सत्य नै हुन्छ । उहाँहरुको कुनै नराम्रो नियत हुँदैन । त्यसैले मैले सिमलीको लौरो बनाईदिन घरमा आमासँग आग्रह गरेँ । म घरमा भने असाध्यै जिद्धी थिएँ । त्यसैले लौलो नबनाईदिएसम्म रुन छाडिन । एक हिसाबले घरको बाघ वनको श्याल जस्तै थिएँ रे म । कुनै पत्तो नचलेपछि आमाले मलाई लौरो बनाईदिनुभयो । त्यहि लौरो लिएर म स्कुल गएँ । बाटोमा एकजना अंकलले मलाई फकाउदै लट्ठि फालिदिनुभएको भन्दै घरतिर अहिले पनि कुराहरु भैरहन्छ ।

यस्तै यस्तै असल र खराब कार्य छुट्याउन नसक्ने अवस्थामा मैले परीक्षामा कखरा भन्न नसकेको कारण सरको देब्रे हातको उल्टो थप्पडको सामना समेत गर्नुप¥यो । त्यहि झापडकै कारणनै स्कुल जान नमान्ने भएछु म । स्कुल जान नमानेकै कारण बुबाले मलाई सिमलगैरी प्राथमिक विद्यालयमा भर्ना गरिदिनुभयो । सिमलगैरीमा भने मैले अलिक प्रगती नै गरेजस्तै लाग्यो । परिश्रमको फल मिठो हुन्छ भन्ने कुराको ज्ञान प्राप्त गरेँ मैले । हरेक तहमा परस्कृत हुँदाको मज्जा छुट्टै हुँदोरहेछ । सिमलगैरीमा अध्ययन गर्दाखेरी हरेक वर्ष पुरस्कृत भएरै छाड्थेँ । कक्षा ५ मा द्धित्तीय भएर फेरी म सुनखानी माध्यामिक विद्यालयमा नै भर्ना भएँ । पुनः भर्ना हुँदा थप्पड हान्नुहुने सरले भने विद्यालय छाडिसक्नुभएको रहेछ । ५ वर्षपछि आउँदा पनि जसको शक्ति उसको भक्ति प्रवृत्ती भने अझै समाप्त भएको रहेनछ । त्यस्तै वातावरणले मलाई फेरी असफलताको सिकार बनायो । असफलता नै सफलताको प्रतिक हो भन्ने पाठ मैले त्यसै बेलाबाट सिकेको हुँ । जिवनलाई संघर्षमय बनाउनुपर्दोरहेछ भन्ने ज्ञान नै त्यहि क्षणले दिलाएको थियो मलाई । अध्ययनकै दौरानमा विद्यालय वरपरका रुख विरुवा, चौतारी, चिरविर चराचरीहरुले पनि मलाई साथ दिँदै आएका थिए । अनि मैले पनि उनीहरुको त्यो सहयोगको उपेक्षा गर्न सकेको थिएन । त्यसले मेरो कपडामा लागेको दाग, आहालमा झरेको झोला, आँखाबाट निस्केको आँशु अनि बेन्चमा बस्न नपाएर बन्नुपरेको बिचल्लीदेखि हरेक क्षणका अमुल्य घटनाहरु अहिले पनि सम्झनामै छ होला । अनि मैले पनि अतितका तितो यथार्थलाई मानसपटलबाट हटाउने हुत्ति गर्न सक्दिन ।

विभिन्न आरोह र अवरोहलाई पार लगाउँदै माध्यमिक तहको शिक्षालाई पुरा गर्ने अवसर पाएको हुँ मैले यस विद्यालयबाट । विद्यालयमा अध्यायापनरत सरमिसहरु असाध्यै चिन्तित हुनुहुन्थ्यो मेरो भविश्यको बारेमा । अनि मलाई पनि एउटा ईख जागेर आउन थालेको थियो भविश्यमा केहि गर्नुपर्छ भन्ने । सबैको सहयोगकै कारण ओझेलका एक पात्र म पछि गएर सबैको मुखमा जपिने नाम बन्न पुगेको थिएँ । सायद विद्यालयमा माध्यमिक तहमा अध्ययन गर्ने पहिलोे ब्याज भएर पनि हुन सक्छ सर मिसहरु म र म सँगै अध्ययन गर्नुहुने सबै साथीहरुप्रति चिन्तित हुनुहुन्थ्यो । अध्ययनका क्रममा धेरै अविश्मरणिय घटनाक्रमले पनि कहिल्यै नबिर्षने दाग लगाईदिएको छ । त्यहि दाग नै आज सुन्दर ट्याटु बन्न पुगेको छ । अझ भनौँ भने एकदिन विद्यालयमा भएको अभिभावक भेलाले मलाई सबैसामू चिन्ने र चिनाउने अवसर दिलायो । मैले मञ्चमा गएर बोल्छ भन्ने कसैलाई पनि विश्वास थिएन । नकी मलाई पनि । मैले त्यसभन्दा पहिले कुनैपनि ठाउँमा गएर भाषण गर्ने अवसर पाएको पनि थिएन । मेरो त्यो अवसर पहिलो एक्सपिरेन्स थियो । आखिर त्यहि मेरो पहिलो भाषणले चर्चा कमायो । सबैको स्याबासी र वाहवाहका कारण म झनै भित्रभित्रै उफ्रन थालेँ । अनि फेरी केहि गर्नुपर्छ भन्ने भावहरु मनमा उब्जन थाल्यो । यसबाट प्रशंसाको अत्ति नै आवश्यक हुन्छ भन्ने प्रष्ट हुन्छ । कसैले कहि भन्ने बित्तिकै रुन थाल्ने व्यक्ति पछि गएर पढाई वहिस्कार देखि विद्यालयमा ताला लगाउने उदण्ड स्वभाव देखाउन समेत पछि नहट्ने भएछु म त । भनेको कुरा हुनै पर्ने जिद्धि स्वभावका व्यक्ति भएपश्चात कत्तिको अगाडी त दुश्मन समेत बन्न पुगेँ । आखिर जेजस्तो परिस्थित उत्पन्न गराएपनि बन्द र अराजक व्यवहारले शिक्षामा स्तरोन्नती हुँदैन रहेछ भन्ने भान हुन्छ आज मलाई । त्यतिबेला कत्तिले त राजनीतिक झण्डा ओढाउने काम समेत गरे । जसले जे भनेपनि मेरो सोचाई त्यस्तो भने थिएन । हामीले गरेको विरोध र आक्र्रोसका कारण हेड सरको आँखाबाट निस्किएका आँसुका थोपाहरु अहिले मेरो जीवनमा अमृतमय बन्दै छ । उहाँको त्यो सहनसिलतालाई मेरो अन्तरमनबाट हटाउने प्रयास समेत गर्न सक्दिन्न ।

आखिर विगतमा जस्तै तितोसत्य घटना र क्षणहरु भएपनि पछिल्लो समयमा भने यस विद्यालयले राम्रै शैक्षिक उद्देश्य हाँसिल गर्दै आईरहेको छ । समस्या नै समस्याबाट गुज्रीएर पनि शिक्षालाई अगाडी बढाउनुपर्छ भन्ने भावना नै महत्वपूर्ण हो । विद्यालयलाई आलोचना गरेर मात्र कुनै समाधानको निचोड नआउने भएका कारण सबैको सहकार्यमा विद्यालयको भविश्य सोच्नु सबैको आवश्यकता हो । हामीभन्दा पहिलेका दाईदिदिहरुले त झन धेरै नै संघर्षहरु भोग्नुपरेको थियो रे विद्यालयमा अध्ययनत गर्दाको क्षणमा । विद्यालयको भवन बनाउँदा ढुंगामाटो समेत उहाँहरुले आफैँ बोक्नुहुन्थ्यो रे । तर हाम्रो पालामा त्यस्तो अवस्था भने खासै सिर्जना भएन ।

प्रवेशीका परीक्षा दिने पहिलो ब्याज हौँ हामी । बिभिन्न समस्याबाट गुज्रीनुपरेकै कारण खासै पढाईलाई राम्रोसँग अगाढी बढाउन सकेका थिएनौँ । त्यसैले सोचोअनुसार परीक्षामा राम्रो अंक ल्याउन पनि सकेनौँ ।  विद्यालयले विविध समस्याको बाबजुत पनि आवश्यक प्रयास भने गरेकै हौँ । तर विभिन्न शक्तिको दबाबमा फस्नुले केहि मात्रामा भने यस विद्यालय बिरामी जस्तै नबनेको भने होईन । विद्यालयलाई राजनितीक थलो बनाउनेहरुले हामीलाई पनि झण्डाको छहारीमा बस्न बाध्य गराएकै हो । राजनीतिले शैक्षिक स्थल बिग्रन्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि विद्यालयमा विभिन्न अवरोधहरु आई नै रहेका थिए । त्यहि अवरोधलाई सामना गरेकै कारण आज यस विद्यालय यहाँसम्म आईपुग्न सफल भएको छ । अझै यस विद्यालयको प्रगती चाहने हो भने उच्च शिक्षाको व्यबस्था पनि हुनु जरुरी छ । उच्च शिक्षा आर्जन गर्ने नजिक कुनै क्याम्पस र कलेजहरु नभएकै कारण कत्तिले बिच्चैमा पढाईलाई टुङ्ग्याउनुपर्ने बाध्यता छ । त्यसैलाई मध्यनजर गर्दा पनि सबैले उच्च शिक्षा स्थापनाका लागि सहकार्य गर्नुपर्ने आवश्यकता देखिन्छ ।

एकाईसौँ सताब्दीको दौरानसँगै विज्ञान र प्रविधिले धेरै नै फड्को मारिसकेको छ । त्यहि अवस्थामा प्राविधिक ज्ञानको अत्ति नै आवश्यक छ । प्राविधिक ज्ञान नै आजको व्यवहारिक शिक्षा हो । जो व्यक्ति किताबी किरा मात्र बन्ने प्रयासमा छ उसले आफ्नो लक्षलाई ठग्दै छ भन्ने जान्दा फरक नपर्ला । किनकी पढेर कुनै प्रगती र उपलब्धी हुन्दैन भने त्यसको अर्थ रद्दिको टोकरीमा मात्र सिमित रहन्छ । त्यसैले आगामी दिनहरुमा यस विद्यालयले प्राविधिक शिक्षाको समेत सुरुवात गर्नुपर्ने देखिन्छ । अझै भन्ने हो भने आधुनीक पुस्तकालयको ब्यवस्था भएमा झनै विद्यार्थीहरुको बौद्धिक स्तरमा उक्सावट आउनेछ । पुस्तकालय निर्माण गरेर मात्र ज्ञान आउँछ भन्ने पनि होईन । आवश्यक पुस्तकहरुको उपलब्धता हुन सकेमा उनीहरुको बौद्धिकतामा बृद्धि हुनेछ । विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै आवश्यक सेक्सन विभाजन गर्नु र शिक्षण सिकाई क्रियाकलाप गराउनु शैक्षिक गुणस्तरमा बृद्धि ल्याउने अर्को उपाय बन्न सक्छ । 

अन्तमाः यस विद्यालयले ५० औँ बसन्त पार गर्दै गर्दा अत्यन्तै खुसी लागिरहेको छ । विद्यालयको उन्नती र प्रगतीको कामना सहित आगामी दिनहरुमा अझ शैक्षिक स्तर उक्सियोस् भन्न चाहन्छु । विद्यार्थीको मनोविज्ञान र अभिभावको चासोलाई ध्यानमा राखेर सकारात्मक गोरेटो देखाउनका लागि यस विद्यालयका शिक्षक शिक्षकाहरु प्रयासरत रहुन् भन्ने मेरो भनाई हो । त्यसैले आफु पुल बनेर अरुलाई तराउने काम गर्न तत्पर शिक्षक शिक्षिकाप्रती पनि आभार प्रकट गर्न चाहन्छु । आगामी दिनहरुमा यस विद्यालय एक पृथक बन्न पुगोस् र उत्पादित विद्यार्थीहरुको भविश्य पनि उज्जवल रहोस् भन्ने मेरो सुभकामना छ । 
शाक्य सुनखानी माध्यामिक विद्यालयबाट एसएलसी दिने पहिलो ब्याज तथा पूर्व विद्यार्थी हुन् ।
यो लेख २०७० सालमा विद्यालयको स्वर्ण उत्सवको अवसरमा निकालिएको स्मारिकामा प्रकाशित छ । 

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?