पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति (सिलापत्र)
नेपाल पत्रकार महासंघ (एफएनजे)ले नेकपा एमालेका नेता महेश बस्नेत र उनका सहयोगीहरूले पत्रकार टेकमान शाक्यलाई धम्की दिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘नेप्लिज टाइम्स डटकम’का सम्पादक शाक्यलाई समाचार प्रकाशनको विषयलाई लिएर बारम्बार धम्की आएको जानकारी पाएको उल्लेख गरेको छ । ‘पत्रकारलाई आतङ्कित र त्रसित बनाउने गरी दिइएको धम्की प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले यस घटनाको निन्दा र भर्त्सना गर्दै प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन नेता बस्नेतलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिन्छ, तर धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन ।’
साथै, महासंघले पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षर छ ।

Comments
Post a Comment