‘कहाँ छौ, भेटेरे राम्रो हिसाबकिताब गर्छु’ भन्दै महेश बस्नेतले फोनबाट पत्रकारलाई धम्की दिएपछि… (टेकपाना)



काठमाडौँ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेत र उनका सहयोगीले पत्रकार टेकमान शाक्यलाई टेलिफोनमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघसहित सञ्चार सम्बद्ध विभिन्न संस्थाले आपत्ति जनाएका छन् । पत्रकारलाई आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

नेता बस्नेतले शुक्रबार बिहान ‘नेप्लिज टाइम्स डटकम’का प्रधानसम्पादक शाक्यलाई फोन गरी धम्की दिएको अडियो सार्वजनिक भएको थियो । ​​सार्वजनिक अडियोमा महेश बस्नेतले पत्रकार शाक्यलाई बारम्बार ‘कहाँ छौ’ भन्दै भेट्न आउने धम्की दिएका छन् । बस्नेतले पत्रकार शाक्यलाई ‘तिमी मेरो विरुद्ध निरन्तर लागिरहेको छौ । वाच गरिरहेको छु । तिमीलाई महँगो पनि पर्ला । ल भन, मेरो इन्टरभ्यु सबै सकाउने गरेर म कहाँ छौँ त्यहाँ आउँछु भन त’ भन्दै चेतावनी दिएका छन् ।

पत्रकार शाक्यले इन्टरभ्यु लिन कुनै पनि समस्या नभएको तर बस्नेतले बोलिरहेको शैलीबारे प्रश्न गर्दा उनी भन्छन्, “तिम्रो हैसियत अनुसार बोलिरहेको छु । तिमी कहाँ छौ भन त, म चाहिँ इन्टरभ्यु दिन आउँछु ।” 

उनले शाक्यको पत्रकारितालाई सर्पको जस्तो चालबाजीको संज्ञा दिँदै भने, ​“जे हर्कत गरेका छौ तिमीले, मलाई थाहा छ तिमीलाई थर्काउने होइन । तिमीले गरेका तिम्रो सर्पको जस्तो चालबाजी मैले वाच गरिरहेको छु । तिम्रो त अति धेरै भएको छ । तर, तिमी कहाँ छौ भन म तिमीलाई इन्टरभ्यु दिन आउँछु ।” बस्नेतले सो क्रममा गम्भीर फौजदारी विषयमा शाक्यले मनलाग्दी लेखेको गुनासो पनि गरे ।

उनले शाक्यमाथि आफ्नो घर जलाउने योजनामा संलग्न रहेको, सिंहदरबार र सर्वोच्च अदालतमा भएको आगजनीको घटनामा योजनाकारको भूमिका खेलेको तथा धादिङबाट पाँच जना केटालाई आफ्नो घरमा आगो लगाउन पठाएको आरोप लगाएका छन् ।

जेनजी आन्दोलनको आडमा २४ भदौमा गुण्डुस्थित बस्नेतको घरमा पनि तोडफोड र आगजनी भएको थियो । आक्रोश भावमा सुनिएका बस्नेतले पत्रकार शाक्यलाई २४ भदौको अराजक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । उनले आफ्नो कुरा नराखी एकपक्षीय तरिकाले पटक पटक समाचार तयार पारेको तथा घर जलेको अवस्थामा पनि शाक्यले खेदेको भन्दै स्पष्टीकरण राख्न नदिएको कुरा कोट्याए ।

साथै आफूमाथि लगाइएको आरोप पुष्टि नभए शाक्यलाई त्यसको उचित हिसाब हुने चेतावनी समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिले पत्रकार शाक्यमाथि धम्की आएको भन्दै शुक्रबार विज्ञप्ति जारी गरेको केही समयपछि नेता बस्नेतले शाक्यको मोबाइलमा ‘धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु, सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नहोस्’ भन्दै थप अर्को मेसेज पठाएको शाक्यले जनाएका छन् ।

बस्नेतको धम्की आएको केही समयपछि अर्का एक अपरिचित व्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिएको उनले सुनाए । उनले ती व्यक्तिले गरेको फोनको अडियो रेकर्ड पनि सार्वजनिक गरेका छन् । आफूलाई महेश बस्नेतको मान्छे हुँ भन्दै धम्की दिने ती व्यक्तिले शाक्यको ज्यान लिनका लागि २०-२२ जना मान्छे खटाएको दाबी गरेका छन् । सो क्रममा ‘घाँटी काट्ने’, ‘घोप्टो पारेर अनुहार चिन्न नसक्ने बनाउने’ सम्मको धम्की दिएको सुन्न सकिन्छ ।

पत्रकार शाक्यले महेश बस्नेत र उनी नजिकका व्यक्तिहरूको धम्कीपूर्ण शैलीमा आपत्ति जनाउँदै आफ्नो सुरक्षामा जोखिम बढेको बताएका छन् । समाचारमा खण्डन पठाउन आग्रह गरे पनि बस्नेतले व्यक्तिगत रूपमा भेटेर ‘हिसाब गर्ने’ धम्की दिएको बताएका छन् । शाक्यले आफूमाथि लागेका निराधार आरोपको खण्डन गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार शाक्यलाई आतङ्कित पार्ने र त्रसित बनाउने गरी दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस घटनाको निन्दा एवं भर्त्सना गर्दै महासंघले पत्रकारिता पेसामाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रताको हनन भएको ठहर गरेको छ ।

प्रकाशित समाचारप्रति असहमत भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भए पनि पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघले सम्बन्धित सबै व्यक्तिहरूलाई सचेत गराएको छ । साथै, उसले पत्रकारलाई धम्की दिने कार्यमा संलग्न नेता बस्नेत र उनका सहयोगीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

अर्काईभ लिंक यहाँ छ ।

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?